गण्डकीलाई प्राप्ति गरेको मेगाले असार २१ गतेदेखि एकीकृत कारोबार थाल्ने

0
Shares

पोखरामा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको गण्डकी विकास बैंकलाई एक्वायर गरेको मेगा बैंकले असार २१ गतेदेखि एकीकृत कारोबार थाल्ने भएको छ।

दुवै बैंकले एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट असार १० गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १४ गते अन्तिम स्वीकृति पाएका थिए । मेगा र गण्डकी गाभिएर बनेको बैंकले मेगाको नामबाट एकीकृत कारोबार गर्नेछ। 

मेगा बैंकले गण्डकीलाई एक बराबर एक शेयर स्वाप रेसियोमा एक्वायर गरेको हो। हाल मेगाको चुक्ता पूँजी १० अर्ब ३८ करोड छ । यस्तै गण्डकी विकास बैंकको २ अर्ब ७५ करोड छ। मर्जरपछि मेगा बैंकको चुक्ता पूँजी १३ अर्ब १३ करोड नाघ्नेछ।

मेगा बैंक र गण्डकी विकास बैंकको गत जेठ २१ गते सम्पन्न छुट्टाछुट्टै विशेष साधारण सभाले एक आपसमा मर्जर तथा प्राप्तीको विशेष प्रस्ताव पारित गरेको थियो।
गण्डकीलाई प्राप्ति गरेपछि मेगाको निक्षेप १ खर्ब २५ अर्ब र कर्जा १ खर्ब ९ अर्ब भन्दा बढी हुनेछ । यसैगरी, मेगा बैंकको ग्राहक संख्या करिब ११ लाख हुनेछ भने शाखा संख्या २०६ वटा, एक्सटेन्सन काउन्टर ३० वटा, एटीएम १४२ वटा हुनेछन् ।

एकीकृत कारोबारका लागि सफ्टवेयर व्यवस्थापनका लागि असार १९ र २० गते बैंकका एटीएम, एसएमएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ लगायतका सम्पूर्ण बैंकिङ सेवाहरु बन्द रहने बैंकले जनाएको छ।

चालू आवको तेस्रो त्रैमाससम्म मेगाले १ अर्ब ४५ करोड १० लाख ९० हजार र गण्डकीले ३६ करोड ९५ लाख ३६ हजार खुद नाफा गरेको छ । यस अवधिसम्म मेगाको वितरणयोग्य नाफा ४५ करोड ९८ लाख ४७ हजार र गण्डकीको ३ करोड २८ लाख ३२ हजार रहेको छ ।

मेगाको प्रतिशेयर आम्दानी १८.८३ र गण्डकीको १७.९२ रुपैयाँ तथा प्रतिशेयर नेटवर्थ क्रमशस् १३२.१९ र १४२.०७ रुपैयाँ छ ।