नक्कली भ्याट बिल प्रकरणमा तीन फर्मविरुद्ध ४१ करोड राजश्व छलीको मुद्दा

0
Shares

राजश्व अनुसन्धान विभागले झुठा तथा नक्कली भ्याट बिल प्रकरणमा तीन कम्पनी विरुद्ध झण्डै ४१ करोड बराबर राजश्व छलीको मुद्दा दायर गरेको छ ।

विभागले ती कम्पनीहरु विरुद्ध ४० करोड ६१ लाख बिगो कायम गरि बिगो असुल, दोब्बर जरिवाना र कैदसमेत माग गरि बुधवार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । 

राजधानीको न्यू सागर प्लास्टिक कन्सर्न, सुप्रिम प्लास्टिक कन्सर्न र बिकोईर स्काईर बंगलामुखी जेभी विरूद्ध मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ ।

काठमाडौँ महानगरपालिका २५ मा रहेको न्यू सागर प्लास्टिक कन्सर्नले २६ करोड ८२ लाख र सुप्रिम प्लास्टिक कन्सर्नले ५ करोड ७७ लाख र बिकोईर स्काईर बंगलामुखी जेभीले ८ करोड १ लाख राजश्व छलि गरेका पाइएपछि मुद्दा दर्ता गरिएको हो ।

मुद्दामा कन्सर्नका प्रोप्राइटर सञ्जु किजु, सागर किजु र जेभीका रोशनकुमार श्रेष्ठलाई प्रतिवादी बनाइएको छ। कन्सर्नले मूल्य अभिवृद्धि कर, आयकरतर्फ सो बराबरको राजश्व चुहावट गरेको अनुसन्धानबाट पत्ता लागेको छ।

यस्तै, विभागले भारत कर्नाटकका अब्दुल मजिद अनेकल र रोशन भनिने लुक्मान्यूल हकिमविरूद्ध ४ करोड २२ लाख ३० हजार ४०७ रुपैयाँ बिगो माग गर्दै अदालतमा मुद्दा दायर गरेको छ।

विभागका अनुसार ६ किलो २८९ ग्राम ३५० मिलिग्राम सुन भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरेको कसुरमा दुवै विरुद्ध मुद्दा दायर छ। उनीहरूलाई बिगोको दोब्बर जरिवाना, कैद माग गरिएको छ। दुबैमाथि विदेशी मुद्दा अपचलनमा अनुसन्धान थालिएको छ।

यस्तै, विभागले विदेशी मुद्रा अपचलन गरेको अभियोगमा भारत दार्जिलिङका रविकुमार शर्मा र विहारका पप्पु कुमारविरुद्ध १ करोड ७५ लाख बिगो कायम गरी मुद्दा दायर गरेको छ।