बन्दाबन्दीले चिया क्षेत्रमा ६० लाख घाटा: न श्रमिकलाई तलब, न त चियाकै बिक्री

0
Shares

मुख्य सिजनमै बन्दाबन्दी भएपछि चिया क्षेत्रले लाखौंको घाटा व्यहोर्नु परेको छ । चियाकै राजा ‘पहिलो टिपाइ’ बेच्ने समयमा कोरोनाका कारण बन्दाबन्दी भएपछि एकातिर किसानले चिया टिपेर प्रशोधित क्षेत्रसम्म पुर्याउन सकेनन् भने अर्कातिर उद्योगमा प्रशोधन गरिएको चिया पनि बजारमा पुर्याउन नसक्दा समस्या भएको छ ।

विशेषगरी चैतको दोस्रो साताबाट चियाको ‘पहिलो टिपाइ’ शुरु हुन्छ । यो चियाको अन्य सिजनको भन्दा गुणस्तरीय हुने भएकाले महँगोमा बिक्री हुन्छ तर यस वर्ष भने सोही समयमा बन्दाबन्दी भएपछि गुणस्तरीय चिया टिप्न सकिएन । गुणस्तरीय चिया नै प्रशोधन गर्न नसकिएपछि लाखौंको घाटा व्यहोर्नु परेको इलाम नगरपालिका–४ को जसवीरे चिया प्रशोधन केन्द्रका सञ्चालक सरद सुब्बा बताए । मुख्य सिजनमै उद्योग बन्द गर्नु पर्ने भएपछि तेस्रो मुलुकबाट चियाको माग आए पनि पठाउन नसकिएको सुब्बाको गुनासो छ । 

“हामी चीनलगायतका तेस्रो मुलुकमा तयारी चिया पठाउछौँ तर यो वर्ष अन्तर्राष्ट्रिय बजार ठप्प हुँदा अझैसम्म पनि पठाउन सकिएको छैन”, सुब्बाले भने, “चिया किनेर प्रशोधन त गरियो तर बिक्री नहुँदा किसान र श्रमिकलाई दिने रकमसमेत छैन ।” उनका अनुसार लकडाउनको समयमा चिया बिक्री त भएन नै श्रमिक र किसानलाई हातमुख जोड्ने रकमको समेत समस्या पर्यो । त्यही सिजनमा चियाको भुक्तानी पनि दिन नसक्दा धेरै चिया किसान–श्रमिक चिढिएको सुब्बाको भनाइ छ ।

पछिल्लो समय चिया बिक्री हुन नसकेपछि केही दिन उद्योग नै बन्द गर्नुपर्दा घाटा व्यहोर्नु परेको सूर्योदय नगरपालिकास्थित गोर्खा टी स्टेटका प्रमुख उदय चापागाईँले बताए । विभिन्न संस्था र व्यक्तिको सहयोगले प्रशोधन उद्योग खुले पनि बजारमा चिया पुर्याउन भने अझै समस्या पर्ने गरेको चापागाईँको भनाइ छ । “एक चोटिको चिया चाहिँ गइसक्यो । लकडाउनकै समयमा भारतले चिया भन्सारमै रोकिदिएपछि पनि जान ढिला भयो”, चापागाईँले भने, “तर अहिले अवस्था सामान्य भइसक्यो ।”

उनले चिया बजारसम्म नपुगे पनि आफूले श्रमिक र किसानलाई पारिश्रमिक र चियाको मूल्य भने दिँदै गरेको जिकिर गरे । बन्दाबन्दीको चपेटामा परेका बेला श्रमिक र किसानको हातमुख जोड्ने वस्तु चियासमेत बिक्री नहुँदा समस्या आउन सक्ने भएकाले रकम भुक्तानी गरिसकेको उनको भनाइ थियो ।

“धेरै उद्योगले चिया बिक्री भएपछि मात्र रकम दिने भन्दै उधारोमा चिया लिइरहेका छन् तर किसानलाई खाद्य सङ्कट आउन सक्छ भनेर मैले चाहिँ सबैलाई दिइसकेको छु”, उनले भने । यस वर्ष बन्दाबन्दीका कारण पहिलो सिजनमा करिब ६० लाख घाटा भएको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राईको भनाइ छ । वन्दाबन्दीले चिया उत्पादित जिल्लामध्ये तराई क्षेत्रका जिल्लामा चियामा बढी घाटा व्यहोर्नु परेको महासचिव राईले बताए । 

प्रकाशित मिति: १८ असार २०७७, बिहीबार  ०७ : ५३ बजे