नेप्सेमा दोस्रो नकारात्मक सर्किट, ४० मिनेटका लागि कारोबार रोकियो

0
Shares

नेप्से ५ प्रतिशतले घटेपछि दोस्रो पटक नकारात्मक सर्किट लागेको छ। पहिलो २३ मिनेटमा पहिलो नकारात्मक सर्किट लागेको बजार ४३ मिनेटमा खुलेकोमा ४ मिनेट नपुग्दै थप १ प्रतिशतले घटेपछि अर्को ४० मिनेटका लागि कारोबार रोकिएको छ।

साताको अन्तिम दिन बिहीबार सुरुवातमा सकारात्मक रहेको नेप्सेमा बिक्री चाप आउँदा ऋणात्मक सर्किट लागेको हो। यसअघि सोमबार पनि नकारात्मक सर्किट लागेर बजार बन्द भएको थियो भने मंगलबार र बुधबार सकारात्मक सर्किट लागेको हो।

बजारमा नाफा सुरक्षित गर्ने क्रम बढ्दा बिहीबार बजारमा ऋणात्मक सर्किट लागेको हो। यस अवधिमा नेप्से ६७.०४ अंकले घटेर १२६९.४८ बिन्दुमा झरेको छ। ठूला कम्पनीको मापक सुचक सेन्सेटिभ इन्डेक्स् ५.१२ प्रतिशतले घटेको छ।

यस अवधिमा १३३ कम्पनीका ६ लाख ३० हजार ५५३ कित्ता शेयर २९ करोड ३५ लाख ६२ हजार रुपैयाँमा खरीद बिक्री भएको छ।

कारोबारमा आएका वित्त र म्युचुअल फण्ड बाहेक ९ वटा उप समूहको सुचक ऋणात्मक बनेको छ। नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ११ लाखको शेयर खरीद बिक्री हुँदा नेपाल लाईफ, हिमालयन डिष्टिलरी, नागरिक लगानी कोष, र एनएमबि बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र एनआईसी एशिया बैंकको १ करोड बढीको शेयर कारोबार भएको छ।

स्वाभिमान लघुवित्तको शेयरमूल्य ८ प्रतिशतले बढेको छ भने मितेरी डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स, एनएलजी इन्स्योरेन्स, आइसीएफसी फाइनान्सको शेयरमूल्य ३ प्रतिशले बढेको छ।

सोल्टी होटल, प्रभु बैंक, हिमालयन डिष्टिलरी, ग्लोबल आइएमई बैंक, एनसीसी, एलआईसीको शेयरमूल्य ९ प्रतिशत बढीले घटेको छ।

अब १२ बजेर २७ मिनेटमा मात्र शेयर बजार खुल्नेछ।

प्रकाशित मिति: १८ असार २०७७, बिहीबार  १२ : १० बजे