भोलिबाट सार्वजनिक यातायात चलाउने निर्णय भएको छैन: यातायात व्यवसायी

0
Shares

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भोलिबाट सार्वजनिक यातायात चलाउने कुनैपनि निर्णय नभएको जनाएको छ । विभिन्न आमसञ्चार माध्यममा भोलिदेखि सार्वजनिक यातायात सञ्चालनमा आउने समाचार आएपछि महासंघले ती समाचारमा कुनै सत्यता नरहेको जनाएको हो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव एवं प्रवक्ता सरोज सिटौलाले भने : ‘नेपालका केही सञ्चारमाध्याम मार्फत यहि असार २१ गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालन गर्ने भन्ने सुन्नमा आएपनि महासङ्घले यसबारे कुनै निर्णय नगरेको स्पष्ट पार्न चाहन्छु ।’

नेपालमा सार्वजनिक यातायात सञ्चालन गर्नेबारे महासङ्घले चाँडै नै सरोकारवाला निकायसँग बैठक बसेर निर्णय गर्ने सिटौलाले बताए। सार्वजनिक सवारी साधन सञ्चालन नहुँदा यातायात व्यवसायी, मजदूर र यात्रुलाई परेको समस्याप्रति सरकारलाई गम्भिर बन्न आग्रह गरे।

महासङ्घले सार्वजनिक यातायात सञ्चालन गर्नेबारे मजदूर, व्यवसायी र सरकारसँग निरन्तर औपचारिक तथा अनौपचारिक रुपमा वार्ता र संवाद गरिरहेको उनले जनाएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणदर नेपालमा बढेसँगै चैत १० देखि देशभर सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको छ, मुलुक लकडाउनमा छ ।

सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएसँगै नेपालका यातायात व्यवसायीहरु आर्थिक सङ्कटमा परेका छन् । नेपाल सरकारलाई नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ साथै मजदूर ट्रेड युनियन समेतले पटक–पटक मौखित तथा लिखित लकडाउनबाट परेको क्षति र असर तथा लकडाउन खुकुलो बनाउने सम्बन्धमा समेत राय सुझाव सबै दिइसकेको अवस्थामा सरकारले सार्वजनिक यातायात सञ्चालनका लागि कुनै प्रष्ट योजना नबनाएको महासंघले जनाएको छ ।

सरकारले साउन ७ गतेसम्मका लागि लकडाउन थपेको छ । लकडाउन खुला गर्नेबारे सरकारले कुनैपनि ठोस निर्णयमा पुग्न नसक्दा नेपालको सार्वजनिक यातायातको क्षेत्रमा पनि अन्यौलता थपिएको छ ।

प्रकाशित मिति: २० असार २०७७, शनिबार  १४ : ०८ बजे