आईपीओ खुलेको २ घण्टामा नै करिब २ गुणा आवेदन

0
Shares

साधना लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर (आईपीओ) निष्काशनको दुई घण्टा अवधिमा नै करिब २ गुणाको माग आवेदन परेको छ।

लघुवित्तको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमएई क्यापिटल लिमिटेडका अनुसार मध्याह्न १२ बजेसम्ममा ११ लाख २९ हजार धेरै कित्ताको माग परेको हो। आईपीओ ४२ हजार २०० वटा आवेदन परेको छ।

लघुवित्तले कर्मचारी र सामूहिक लगानी कोषका लागि सुरक्षित गरि ६ लाख ६१ हजार ५२० कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन मागेको थियो।

नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा अनुमति पाएको लघुवित्तले प्रतिकित्ता १०० का दरले ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८०० कित्ता साधारण शेयर बिक्रीमा ल्याएको हो।

जसमध्ये १० हजार ८९० कित्ता शेयर कर्मचारीलाई तथा पाँच प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता शेयर सामूहिक लागनी कोषका लागि सुरक्षित गरिएको छ ।

लघुवित्तको शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमएई क्यापिटल लिमिटेड रहेको छ । साधारण शेयर छिटोमा यही असार २४ गतेसम्म र ढिलोमा आगामी साउन ४ गतेसम्म बिक्री गरिनेछ । जसमा न्यूनतम १० एकाई र अधिकतम एक हजार एकाईहरूको लागि आवेदन राख्न सकिन्छ।

इक्रा नेपालले गरेको रेटिङमा सो वित्तीय संस्थाको शेयर औसतभन्दा तल आधार रहेको उल्लेख गरिएको छ । नेपाल धितोपत्र बोर्डले यही असार ७ गते साधारण शेयर निष्कासनका लागि संस्थालाई स्वीकृति दिएको थियो ।

केहि समय अघि आर्थिक सम्वृद्धि लघुवित्तलाई प्राप्ती गरेर एकिकृत कारोबार थालेको थियो। सर्वसाधारणलाई शेयर जारी गरेपछि ५० प्रतिशत हकप्रद बिक्री गर्ने योजना कम्पनीको छ । सर्वसाधारणमा शेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्नेछ । हकप्रद पछि पूँजी ३२ करोड नाघ्नेछ।

लघुवित्तले चालु आवको तेस्रो त्रैमाससम्ममा १ करोड ९० लाख ९१ हजार खुद नाफा आर्जन गरेको छ । गोरखामा केन्द्रीय कार्यालय रहेको लघुवित्तको चुक्ता पूँजी १४ करोड ७० लाख र वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३२ पैसा रहेको छ । संस्थाको जगेडा कोषको आकार १ करोड १४ लाखबाट बढेर ४ करोड २ लाख पुगेको छ ।

प्रकाशित मिति: २१ असार २०७७, आइतबार  १२ : १२ बजे