साधना लघुवित्तको आईपीओमा पहिलो दिनमै ४ गुणा बढी आवेदन

0
Shares

साधना लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपिओ) मा पहिलो दिनमा नै सर्वसाधारणबाट माग गरेकोभन्दा ४ गुणा बढीको शेयर माग आवेदन परेको छ ।

लघुवित्तले आइतबारदेखि सर्वसाधारणमा ६ लाख ६१ हजार ५२० कित्ता शेयर निष्काशन गरेकोमा साँझ ५ बजेसम्ममा २७ लाख ९४ हजार ३७० कित्ताको आवेदन परेको बिक्री प्रबन्धक बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। यो सर्वसाधारणबाट माग गरिएको भन्दा ४.२२४ गुणा बढी आवेदन हो ।

लघुवित्तले कर्मचारी र सामूहिक लगानी कोषका लागि सुरक्षित गरि ६ लाख ६१ हजार ५२० कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन मागेको थियो।आइपीओ खरीदका लागि १ लाख ७ हजार ६३० जना आवेदकले शेयर भरेका छन्। 

नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा अनुमति पाएको लघुवित्तले जारी पूँजीको ३२.५० प्रतिशत अर्थात प्रतिकित्ता १०० का दरले ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८०० कित्ता साधारण शेयर बिक्रीमा ल्याएको हो। जसमध्ये ०.५० प्रतिशत अर्था १० हजा ८९० कित्ता शेयर कर्मचारी, ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषसलाई र बाँकी शेयरधनीहरुलाई छुट्याइएको छ ।

लघुवित्तको शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमएई क्यापिटल लिमिटेड रहेको छ । साधारण शेयर छिटोमा यही असार २४ गतेसम्म र ढिलोमा आगामी साउन ४ गतेसम्म बिक्री गरिनेछ । जसमा न्यूनतम १० एकाई र अधिकतम एक हजार एकाईहरूको लागि आवेदन राख्न सकिन्छ।

इक्रा नेपालले गरेको रेटिङमा सो वित्तीय संस्थाको शेयर औसतभन्दा तल आधार रहेको उल्लेख गरिएको छ । नेपाल धितोपत्र बोर्डले यही असार ७ गते साधारण शेयर निष्कासनका लागि संस्थालाई स्वीकृति दिएको थियो ।

केहि समय अघि आर्थिक सम्वृद्धि लघुवित्तलाई प्राप्ती गरेर एकिकृत कारोबार थालेको थियो। सर्वसाधारणलाई शेयर जारी गरेपछि ५० प्रतिशत हकप्रद बिक्री गर्ने योजना कम्पनीको छ । सर्वसाधारणमा शेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्नेछ । हकप्रद पछि पूँजी ३२ करोड नाघ्नेछ।

लघुवित्तले चालु आवको तेस्रो त्रैमाससम्ममा १ करोड ९० लाख ९१ हजार खुद नाफा आर्जन गरेको छ । गोरखामा केन्द्रीय कार्यालय रहेको लघुवित्तको चुक्ता पूँजी १४ करोड ७० लाख र वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३२ पैसा रहेको छ । संस्थाको जगेडा कोषको आकार १ करोड १४ लाखबाट बढेर ४ करोड २ लाख पुगेको छ ।

प्रकाशित मिति: २१ असार २०७७, आइतबार  १७ : ४४ बजे