सडक विभागका पूर्व इन्जिनियर विरुद्ध एक करोड ८५ लाखको भ्रष्टाचार मुद्दा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागका पूर्वसुपरिटेन्डेन्ट इन्जिनियर चन्द्रनारायण यादवविरुद्ध एक करोड ८५ लाख बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

०३६ मंसिर २ गतेदेखि सार्वजनिक सेवा प्रवेश गरेका यादवले २०७४ फागुन १६ गते अवकाश पाउनुअघिसम्म एक करोड ८५ लाख ११ हजार ७२८ गैर कानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा भष्टाचार मुद्दा दायर गरेको हो ।

यादवले सार्वजनिक सेवामा रहुन्जेल २ करोड ८७ लाख ८६ हजार ४६८ रुपैयाँ आम्दानी गरेकोमा १ करोड २ लाख ७४ हजार ७ सय ३९ रुपैयाँ मात्र वैद्य आय देखिएको अख्तियारको भनाई छ ।

यादवले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति घर निर्माण, जग्गा खरिद, घरको फर्निचर तथा फर्निसिङ, इलेक्ट्रोनिक सामान, छोराछोरीलाई एमबीबीएस अध्ययनका लागि खर्च गरेको अख्तियारको अनुसन्धानले पुष्टि गरेको छ।

अख्तियारले यादव विरुछा बिगो १ करोड ८५ लाख ११ हजार ७२८ कायम गरी साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ मा उल्लेख भए वमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा ९२० बमोजिम सजाय माग दाबी गरेको छ ।

साथै यादवले निजको श्रीमती राधाकुमारी यादव समेतलाई सम्पत्ति जफत गर्ने प्रयोजनको लागि प्रतिवादी कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।