असार लागेपछि बैंकहरुमा थपियो ४८ अर्ब निक्षेप, कर्जा विस्तार ठप्प

0
Shares

चालु आर्थिक वर्षको अन्तिम महिना असार लागेपछि बैंकहरुमा ४८ अर्ब निक्षेप थपिएको छ। यो अवधिमा बैंकहरुको कर्जा विस्तार भने ७ अर्बले गिरावट आएको छ।

नेपाल बैकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार असार १९ गतेसम्म वाणिज्य बैंकहरुमा ३३ खर्ब २४ अर्ब निक्षेप रहेको छ भने यसअवधिसम्म बैंकहरुले २८ खर्ब ९ अर्ब कर्जा प्रवाह गरेका छन् । जेठ ३० गतेसम्म बैंकहरुमा ३२ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । ऋण भने २८ खर्ब १६ अर्ब रुपैयाँ रहेको थियो ।

बैंकहरुमा निक्षेप थपिए पनि कर्जाको माग नआउँदा कर्जा विस्तार ठप्प छ। आर्थिक वर्ष अन्त्य हुन लागेकाले कर्जा असुलीको क्रम भने जारी छ । तर असारको तेस्रो हप्तामा कर्जा असुली समेत हुन सकेको छैन् । असारको पहिलो साता बैंकहरुको कर्जा ५ अर्ब रुपैयाँले घटेको थियो भने दोस्रो साता २ अर्बले घटेको थियो।

असारको तेस्रो साता बैंकहरूको निक्षेप संकलन २२ अर्ब रुपैयाँले बढेको छ भने कर्जा विस्तार तथा असुली न्यून छ । लकडाउन केही खुकुलो भएपश्चात कर्जा लगानी बढ्ने बैंकहरुको आँकलन रहे पनि हालसम्म कर्जा लगानी बढ्न सकेको छैन।