साधना लघुवित्तको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन

0
Shares

साधना लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपिओ) मा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ।

लगानीकर्ताले आज बेलुका ५ बजेसम्म शेयरमा आवेदन दिन पाउनेछन् । तेस्रो दिन बेलुका ५ बजेसम्ममा सर्वसाधारणबाट माग गरेकोभन्दा करिब १४ गुणा बढीको शेयर माग आवेदन परेको छ।

लघुवित्तले आइतबारदेखि सर्वसाधारणमा ६ लाख ६१ हजार ५२० कित्ता शेयर बिक्रीमा ल्याइएकोमा मंगलबार बेलुका ५ बजेसम्ममा ९० लाख ८७ हजार ५४० कित्ताको आवेदन परेको बिक्री प्रबन्धक बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। यो सर्वसाधारणबाट माग गरिएको भन्दा १३।७४ गुणा बढी आवेदन हो। 

लघुवित्तले कर्मचारी र सामूहिक लगानी कोषका लागि सुरक्षित गरि ६ लाख ६१ हजार ५२० कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन मागेको थियो। आइपीओ खरीदका लागि ३ लाख ६८ हजार ९९६ जना आवेदकले शेयर भरेका छन्।

मंगलबार मात्रै ७९ हजार २८१ आवेदकले १९ लाख ८३ हजार ५५० कित्ता शेयरका लागि आवेदन परेको छ। हालसम्म ३ लाख ६३ हजार ३५२ वटा आवेदनबाट परेको ८८ लाख ६४ हजार ८३० कित्ताको माग सदर भएको छ।

हालसम्म आईपीओ परेको आवेदनमध्ये ६ हजार ११६ वटाबाट परेको २ लाख ३४ हजार २३० कित्ता शेयरको माग रद्ध भएको छ। मंगलबार मात्रै ४४५ आवेदकबाट परेको १४ हजार ४५० कित्ताको माग रद्ध भएको क्यापिटलले जनाएको छ।

नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा अनुमति पाएको लघुवित्तले जारी पूँजीको ३२।५० प्रतिशत अर्थात प्रतिकित्ता १०० का दरले ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८०० कित्ता साधारण शेयर बिक्रीमा ल्याएको हो।

जसमध्ये ०।५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता शेयर कर्मचारी, ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी सर्वसाधारणमा बिक्रीमा ल्याइएको हो।

लघुवित्तको शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमएई क्यापिटल लिमिटेड रहेको छ । साधारण शेयर असार २४ गतेसम्म आवेदन दिन सकिन्छ । जसमा न्यूनतम १० एकाई र अधिकतम एक हजार एकाईहरूको लागि आवेदन राख्न सकिन्छ।

इक्रा नेपालले गरेको रेटिङमा सो वित्तीय संस्थाको शेयर औसतभन्दा तल आधार रहेको उल्लेख गरिएको छ।

केहि समय अघि आर्थिक सम्वृद्धि लघुवित्तलाई प्राप्ती गरेर एकिकृत कारोबार थालेको थियो। सर्वसाधारणलाई शेयर जारी गरेपछि ५० प्रतिशत हकप्रद बिक्री गर्ने योजना कम्पनीको छ । सर्वसाधारणमा शेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्नेछ । हकप्रद पछि पूँजी ३२ करोड नाघ्नेछ।

लघुवित्तले चालु आवको तेस्रो त्रैमाससम्ममा १ करोड ९० लाख ९१ हजार खुद नाफा आर्जन गरेको छ । गोरखामा केन्द्रीय कार्यालय रहेको लघुवित्तको चुक्ता पूँजी १४ करोड ७० लाख र वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३२ पैसा रहेको छ । संस्थाको जगेडा कोषको आकार १ करोड १४ लाखबाट बढेर ४ करोड २ लाख पुगेको छ।