राजश्व चुहावटमा विभिन्न व्यक्ति तथा कम्पनी विरुद्ध ७७ करोड बिगो दाबी सहित मुद्दा

0
Shares

भन्सार चोरी पैठारी, झुठा तथा नक्कली मूल्य अभिवृद्धिकर विजक प्रयोग गरी राजश्व चुहावट गरेको अभियोगमा विभिन्न व्यक्ति तथा कम्पनीविरुद्ध ७७ करोड चार लाख बिगो कायम गरी उच्च अदालतमा मुद्दा दायर गरिएको छ ।

उनीहरुविरुद्ध बिगो असुल गरी सोही बराबरको जरिवाना र कैद सजायको माग दाबीसहित राजश्व अनुसन्धान विभागले बुधबार उच्च अदालत पाटनमा मुद्दा चलाएको हो।

झुठा तथा नक्कली मूल्य अभिवृद्धिकर बिजक प्रयोग गरी राजश्व छली गर्ने न्यूकोइराला ब्रदर्स इन्टरप्राइजेजले एक करोड ७० लाख १९ हजार बिगो कायम गरी उक्त बिगो असुल उपर गरी गराई जरिवाना र कैदको माग दाबी सहित बुधबार मुद्दा चलाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए।

यस्तै काठमाडौं महानगरपालिका महाबौद्धमा ठेगाना राखी कारोवार गर्ने समर ट्रेडर्सले पनि राजश्व चुहावट गरेको भेटिएको छ। राजश्व छली गरेको अभियोगमा चार करोड ५८ लाख बिगो असुलउपर गरी जरिवाना एवं कैद सजायको माग दाबी लिई मुद्दा दर्ता गरिएको छ।

विदेशबाट मोबाइललगायत इलेक्ट्रोनिक्स सामान चोरीपैठारी गरी राजश्व चुहावट गरेको कसूरमा काठमाडौंको टोखास्थित ग्राण्डी अपार्टमेन्टमा बस्ने मयुर मालाकार समेत दुई जनाविरुद्ध ४३ करोड १८ लाख बिगो कायम गरी जरिवाना र कैद सजायको मागदाबी लिई उच्च अदालत पाटनमा मुद्दा चलाइएको मैनालीले बताए।

यस्तै झुठा तथा नक्कली मूल्य अभिवृद्धिकरको बिजक प्रयोग गरी राजश्व छली गर्ने काठमाडौं महानगरपालिका–४ मा रहेको जिमी ग्रुप प्रालिले राजश्व चुहावट गरेको अभियोगमा रु १८ करोड बिगो बराबरको राजश्व छलेको पाइएको छ ।

ललितपुर महानगरपालिका–३ स्थित न्यूक्रियसन इम्पेक्स प्रालि, बङ्गलामुखी ट्रेड एण्ड सप्लाई र काठमाडौं महानगरपालिका २८ स्थित बिएस ट्रेड इन्टरनेशनलले नौ करोड बिगो बराबरको राजश्व चुहावट गरेको अभियोग छ। उक्त कम्पनीविरुद्ध जरिवाना एवं कैद सजायको मागदाबी लिई उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।