स्वरोजगारले जनकपुर लघुवित्तलाई किनेर शतप्रतिशत हकप्रद बेच्ने

0
Shares

स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्तलाई प्राप्ति गरेपश्चात शतप्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव गरेर विशेष साधारण सभा आह्वान गरेको छ ।

साउन १० गते काठमाडौंमा हुने लघुवित्तको साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ । बनेपामा मुख्य कार्यालय रहेको स्वरोजगार लघुवित्तले जनकपुरमा मुख्य कार्यालय रहेको जनकपुर लघुवित्तलाई ७० रुपैयाँ स्वापमा खरिद गर्न लागेको हो।

स्वरोजगारले जनकपुर लघुवित्तलाई ७० रुपैयाँ स्वापमा किन्ने

नेप्सेमा सूचीकृत स्वरोजगार लघुवित्तको चुक्ता पूँजी ३४ करोड १६ लाख रुपैयाँ छ भने जनकपुर लघुवित्तको ३ करोड ४७ लाख ५० हजार रुपैयाँ छ। खरिद पश्चात स्वरोजगार लघुवित्तको चुक्ता पूँजी ३६ करोड ५९ लाख रुपैंया नाघ्नेछ ।

त्यसपश्चात लघुवित्तले शतप्रतिशत हकप्रद शेयर बिक्री गर्नेछ । हकप्रद पश्चात लघुवित्तको चुक्ता पूँजी ७३ करोड पुग्नेछ ।

जनकपुर लघुवित्तले साधारण शेयर निष्काशन गरेको छैन । लघुवित्तको संस्थापक शेयर मात्र खरिद गर्ने भएकाले स्वरोजगार लघुवित्तको हाल कायम ५१ अनुपात ४९ को संस्थापक तथा साधारण शेयर संरचनामा पनि परिवर्तन हुने भएको छ । जनकपुरलाई विलय गरे पछि स्वरोजगारमा संस्थापक शेयरधनीको हिस्सा ५४ प्रतिशतसम्म उक्लिन सक्ने देखिन्छ ।

प्रकाशित मिति: २६ असार २०७७, शुक्रबार  ०८ : ०४ बजे