शनिबार थप ७० जनामा कोरोना सङ्क्रमण पुष्टि, कूल सङ्क्रमितको ५०.५ प्रतिशत डिस्चार्ज

0
Shares

पछिल्लो २४ घण्टामा ७० कोरोना सङ्क्रमित थपिएका छन् । कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले विभिन्न २५ वटा प्रयोगशालामा गरिएको ३ हजार ६४८ नमूना परीक्षणमा ७० जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए।

प्रदेश अनुसार सबैभन्दा बढी गण्डकी प्रदेशमा १६, वाग्मती प्रदेशमा १४, प्रदेश नं १ मा १३, प्रदेश नं ५ मा १०, कर्णाली प्रदेशमा सात तथा प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशमा पाँच÷पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

आज सबैभन्दा बढी सिन्धुपाल्चोक र दाङमा पाँच÷पाँच, सुनसरी, उदयपुर, स्याङ्जा, तनहुँ र कञ्चनपुरमा चार÷चार, मोरङ, काठमाडौँ, धादिङ, सर्लाही, बागलुङ र सुर्खेतमा तीन÷तीन, झापा, म्याग्दी, कास्की, बाँके, बर्दिया र जुम्लामा दुई÷दुई, सिरहा, नुवाकोट, चितवन, सिन्धुली, रौतहट, पर्वत, पाल्पा, रुकुम पश्चिम, सल्यान र अछाममा एक÷एक सङ्क्रमित भेटिएका छन् ।

यससँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या १६ हजार ७१९ पुगेको छ । छ जिल्लामा ५०० बढी सक्रिय सङ्क्रमित छन् । महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा गराइरहेका ४३१ जना कोरोना सङ्क्रमण मुक्त भई ‘डिस्चार्ज’ भएको प्रवक्ता गौतमले जानकारी दिए।

हालसम्म कूल सङ्क्रमितको ५०.५ प्रतिशत डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको कूल सङ्ख्या ८ हजार ४४२ पुगेको छ। क्वारेन्टिनमा रहनेको सङ्ख्या २४ हजार ९७ छ भने आइसोलेशनमा रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या ८ हजार २३९ छ ।

प्रदेश नं १ का क्वारेन्टिनमा दुई हजार ७७४, प्रदेश नं २ मा दुई हजार ९६५, वाग्मती प्रदेशमा एक हजार ९२८, गण्डकी प्रदेशमा चार हजार १९७, प्रदेश नं ५ मा पाँच हजार १९९, कर्णाली प्रदेशमा एक हजार ८१८ र सुदूरपश्चिममा पाँच हजार २१६ जना क्वारेन्टिनमा बसेका छन् ।
हालसम्म ६ जिल्ला कोरोना सङ्क्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । प्रवक्ता गौतमका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्लामा सक्रिय सङ्क्रमित छैनन् ।