राष्ट्र बैंकले अलिकति सहयोग गरे हामी उठ्छौं – व्यवसायी

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले यो वर्षको मौद्रिक नीति बजेटजत्तिकै महत्वपूर्ण भएकोले सबैको यसमा चासो रहेकोले सबै क्षेत्रलाई राहत मिल्नेगरि मौद्रिक नीति आउनुपर्नेमा जोड दिएका छन् ।

राजधानीमा आयोजित एक अन्र्तक्रियामा गोल्छाले मुलुकको अर्थतन्त्र उकास्न र नीजि क्षेत्रलाई समेत माथि उकास्नका लागि मौद्रिक नीति व्यवहारिक आउनेमा आफू आशावादी रहेको बताए। उनले कोभिड–१९ का कारण स्वदेशमा झण्डै पाँच लाख युवाहरु विस्थापित भएको र सोभन्दा ठूलो संख्यामा विस्थापित भई बाहिरबाट युवाहरु आउने सुनाउँदै उनीहरुलाई व्यवस्थापन गर्न चूनौति रहेको बताए । ‘यो चूनौतिलाई पनि सम्बोधन गर्नेगरि मौद्रिक नीति आउनुपर्छ’–उनले भने।

उनले भने,‘अबको तरलताको व्यवस्थापनका लागि मूख्य आशा नै मौद्रिक नीति हो।’ उनले मौद्रिक नीतिमा मूख्यतः पुनर्कर्जा, ब्याजदर र पुनसंरचनालाई जोड दिए। उनले भने,‘पुनकर्जाको पहिलाको स्वरुप फेर्नुपर्छ।’ गोल्छाले आगामी मौद्रिक नीतिमा तरलता व्यवस्थापन र श्रमिक व्यवस्थापनका लागि विशेष ध्यान दिइनुपर्ने सुझाव दिए । व्याजलाई पुँजीकृत गर्नुपर्ने उनको तर्क छ । उनले भने,‘त्यही धितोमा २० प्रतिशत एक्स्ट्रा क्रेडिट दिनुपर्छ ।’

उनले यो वर्ष पैसा कमाउने वर्ष नभएको भन्दै सबैले सर्भाईभ हुनेगरि नीति आउनुपर्नेमा जोड दिए । उनले भने,‘हामी उठ्न सक्छौं । राष्ट्र बैंकले अलिकति सहयोग गर्नुपर्छ । अहिले सबैले आफ्नो प्रोफिट छोडेर अर्थतन्त्रलाई जोगाउने काम गरौं । यसो गरियो भने समस्याको निदान हुन्छ ।’

उनले यसअघि पूनर्कर्जा ठूला व्यवसायीलाई मात्रै दिईने गरिएको सुनाउँदै यो वर्ष ‘स्टिमुलेशन प्याकेज’ आउनुपर्ने र यसबाट साना, मझौला र ठूला सबैले लाभ लिनुपर्ने बताए ।

गोल्छाले नेपालको बैंकिङ क्षेत्र दक्षिण एशियामै राम्रो रहेको सुनाए । उनले बैंक बलियो हुनुपर्नेमा जोड दिए । उनले भने,‘बैंक बलियो हुनुपर्छ । तर, यो वर्ष कम्प्रमाईज गरौं । बैंकिङ चार्जहरु कम गरौं । व्यवसाय बलियो भयो भने बैंक पनि बलियो हुन्छ ।’ अहिलेको संकटबाट मुलुकलाई पार लगाउनको लागि मौद्रिक नीति महत्वपूर्ण हुने बताउँदै आगामी ६ महिनासम्म ईकोनोमी ड्राईभ हुने र एक वर्षपछि ईकोनोमिक ग्रोथ हुने उनले विश्वास दिलाए ।

नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले अहिले राष्ट्र विषम परिस्थितिबाट गुज्रिरहेकोले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति विगतभन्दा फरक आउनुपर्नेमा जोड दिएका छन् ।

उनले नेपालको अर्थतन्त्र उत्पादनमुखी र निर्यातमुखी बन्नुपर्नेमा जोड दिए । उनले १५० अर्बको ‘स्टिमुलस प्याकेज’ लागु हुनुपर्ने पनि बताए । उनले भने,‘यो बजेटमा घोषणा भएको छ । तर, कार्यान्वयन भएको छैन् । अब आउने मौद्रिक नीतिले सम्बोधन गर्छ होला । मौद्रिक नीति असारमै आउनुपर्दथ्यो ।’

उनले आम व्यवसायीको लागि मौद्रिक नीतिमा ब्याजदरको कुरा सम्बोधन हुनुपर्ने बताए । उनले अहिले राष्ट्र नै विषम परिस्थितिबाट गुज्रिरहेकोले समग्र क्षेत्र एक भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने,‘एकले अर्कोलाई सहयोग गर्नुपर्छ । अब आउने मौद्रिक नीतिले तल्लो तहसम्म यसको अनुभुति हुन सकोस ।’ उनले सरकारी र निजी क्षेत्र मिलेर अघि बढे अहिलेको संकटबाट पार पाउन सकिने बताए ।

‘हाम्रो देशमा काम गर्ने शक्ति एशियामै बढि भएको देश हो । सबै एक भएर अघि बढ्नुपर्छ । सरकारले ल्याउने मौद्रिक नीति तल्लो तहका जनताले महशुस गर्न सक्नुपर्छ ।’–उनले भने ।