भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत उपसचिव गोविन्द प्रसाद अधिकारी सहित ७ जना उपर विशेष अदालत, काठमाडौंमा मंगलबार आरोपपत्र दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिव अधिकारी, मालपोत अधिकृत रघुवंश कंडेल, नासुहरु उद्वव सापकोटा, नारायण प्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दिपक खनाल उपर मुद्दा चलाएको हो।
मालपोत कार्यालयमा कार्यरत कर्मचारीहरुले जग्गाको कित्ताकाट गर्न आदेश गराई दिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले सेवाग्राहीबाट ८ लाख ५० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान अनुसन्धान अगाडि बढाएको थियो।
अनुसन्धानबाट सबैले एक आपसमा मिलेमतो गरी सेवाग्राहीको काठमाडौं टोखामा रहेको र बैना गरेका बिभिन्न कित्ता जग्गाहरुको प्लट मिलान गरी कित्ताकाट गर्न नापी कार्यालयलाई आदेश दिने प्रयोजनका लागि ८ लाख ५० हजार घुस माग गरी नियमानुसार गर्नुपर्ने काममा सेवाग्राहीलाई दुख हैरानी दिई घुस रकम दिन बाध्यपारी लिएको तथ्य सप्रमाण पुष्टि हुन आएको जनाएको छ।
प्रतिक्रिया