स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा कोभिड-१९ बाट राहत र पुनर्बहालीमा ३ करोड ५३ लाख सहयोग

0
Shares

स्टयान्डर्ड चार्टर्ड बैंक (SCB) ले कोरोना भाइरसको महामारी विरुद्धको लडाईमा सघाउन हालसम्म ३ करोड ५३ लाख सहयोग प्रदान गरेको छ।

बैंकले पछिल्लो पटक एक्सन एड इन्टरनेशनल–नेपाललाई १ करोड ७९ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकले ‘नेपालमा संकटापन्न घरपरिवारलाई आधारभूत जिविका र सरसफाईका साधनमा टेवा दिएर संक्रमणको उपायमा पहुँच अभिवृद्धि’ परियोजनाका लागि सो रकम उपलब्ध गराएको जनाएको छ ।

योसँगै नेपालमा कोभिड–१९ को संकटसँग जुध्न बैंकले गरेको योगदान रकम ३ करोड ५३ लाख पुगेको छ।

बैंकले राहत गतिविधिका लागि नेपाल सरकारलाई १ करोड १६ लाख र गैर–सरकारी संस्था पासाङ ल्हामु पर्वतारोहण संघलाई ५८ लाख रुपैयाँ दिएको थियो।

पछिल्लो परियोजनाको लक्ष्य समूदायमा कोभिड–१९ को महामारीबाट सबैभन्दा धेरै मारमा परेका सिमान्तकृत र संकटापन्न व्यक्तिको लागि बृहत प्रतिक्रिया कार्यक्रम ल्याउनु रहेको छ।

यस अन्तर्गत स्वास्थ्य समस्यासँग जुध्न रोकथामका उपायहरु अपनाउने, कोभिड–१९ रोकथामका उपकरणहरुमा घरपरिवारलाई पहुँच दिने, सम्बन्धित गतिविधिमा पीपीई वितरण लगायत गतिविधिहरु छन्।

प्रकाशित मिति: ३१ असार २०७७, बुधबार  १४ : ३९ बजे