सिडिएससीको प्रमुख कार्यकारी अधिकृतका लागि ७ जनाको आवेदन पर्यो

0
Shares

केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) को प्रमुख कार्यकारी अधिकृतका लागि ७ जनाको आवेदन परेको छ । सिडिएससीले गत असार १६ गते सिईओका छनौटका लागि १५ दिनको म्याद राखेर आवेदन माग गरेको थियो।

प्रमुख कार्यकारी अधिकृत पदका लागि सिभिल क्यापिटलका पूर्व प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे, प्रभु क्यापिटलका कृष्ण गिरी लगायत अन्य ५ जनाको आवेदन परेको छ ।

सिडिएससीको प्रमुख कार्यकारी अधिकृत छनौट गर्न नेपाल स्टक एक्सचेञ्जले ५ सदस्यीय छनौट समिति गठन गरेको छ। उक्त समितिले उम्मेदवारको शैक्षिक योग्यता र पेश भएको कार्य योजनाको मूल्यांकनका आधारमा उच्चतम अंक प्राप्त गर्ने बढीमा ५ (पाँच) जना उम्मेदवारलाई छनौट गरी कार्य योजनाको प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि छनौट गर्नेछ।

अन्तर्वार्तामा छनौट भएका उम्मेदवारहरु मध्ये शैक्षिक योग्यता, कार्ययोजनाको मूल्यांकन, सोको प्रस्तुतिकरण तथा अन्तर्वार्ता समेतमा प्राप्त कूल अंकको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३(तीन) जना उम्मेदवारको नाम वर्णानुक्रमानुसार समितिले सिफारिश गर्नेछ । जसमध्येबाट सिडिएससी सञ्चालक समितिले व्यवसासयिक कार्ययोजनाको प्रस्तुतीको आधारमा एक जनालाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नेछ । प्रमुख कार्यकारीको पदावदी चारवर्षको हुनेछ ।

गत मंसिरदेखि सिडिएससि प्रमुख विहीन छ। यस अघिका प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ताको कार्यकाल सकिएपछि उक्त पद खालि रहेको थियो। गुप्ताको कार्यकाल गत कार्तिक १५ मै सकिएको भएपनि संचालक समितिले एक महिना समय थप गरेको थियो, उक्त थपिएको समय सकिएपछि गुप्ताले राजीनामा दिएका थिए।

केन्द्रीय निक्षेप सेवा नियमावली २०६७ को नियम १८ ले तोकेको योग्यता अनुसार प्रमुख कार्यकारी पदका लागि अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त, लेखा, व्यवस्थापन वा वाणिज्य कानुन बिषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधी हासिल गरेको व्यक्ति, पूँजी बजार वा उद्योग वा वाणिज्य वा वित्त वा लेखा वा कानुन वा व्यवस्थापन क्षेत्रहरूमध्ये कुनै एक वा एकभन्दा बढी क्षेत्रमा कम्तीमा पाँच बर्षको अनुभव भएकाले आवेदन गर्न सक्नेछन् । यसमा आवेदन गर्नका लागि ३५ वर्ष पुरा भई ६० बर्ष ननाघेको हुनुपर्नेछ।

निवर्तमान प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्तालाई विदाई गरेसँगै कम्पनीकी उच्च तहकी कञ्चन सापकोटालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पूर्ण स्वामित्वमा रहेको यो संस्था सन २०१० मा संस्थापना भई २०११ मार्च ३१ तारेखबाट विधिवत रुपमा सञ्चालनमा आएको हो ।

प्रकाशित मिति: ३१ असार २०७७, बुधबार  १४ : ५९ बजे