उप-महानगरपालिका सहित लेखापरीक्षण नगरेका १० स्थानीय तहको अनुदान रोक्का हुने

0
Shares

महालेखा परिक्षकले लेखा परीक्षण नगर्ने स्थानीय तहलाई दिने अनुदान रोक्का गर्नेसम्मको कारबाही अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ।

आर्थिक वर्ष २०७५/७६ मा ७५३ स्थानीय तहमध्ये १० वटाले लेखापरीक्षण गराउनुपर्ने नगराएपछि महालेखाले ५७ औं वार्षिक प्रतिवेदनमा अनुदान रोक्का गर्नेसम्मको कारबाहीको प्रकृया अगाडि बढाउन भनेको हो।

लेखापरीक्षण ऐन, २०७५ को दफा २० र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७७ बमोजिम प्रत्येक स्थानीय तहले आफ्नो आय तथा व्ययको अन्तिम लेखापरीक्षण महालेखापरीक्षकको कार्यालयबाट गराउनुपर्ने उल्लेख छ ।

लेखापरीक्षण नगर्नेमा सिरहाको भगवानपुर र नराह गाउँपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, सर्लाहीको वलरा र कविलासी नगरपालिका तथा वसवरिया गाउँपालिका, रौतहटको फतुवा विजयपुर नगरपालिका र पर्साको ठोरी र जिराभवानीपुर गाउँपालिका, रामेछापको लिखु तामाकोशी गाउँपालिका समेत १० स्थानीय तहले लेखापरीक्षण नगराएका हुन् ।

आर्थिक वर्ष २०७४/७५ मा श्रेस्ता पेश नगरी सर्लाही, महोत्तरी, धनुषा र बझाङ्गका ६ स्थानीय तहको लेखापरीक्षण वक्यौता रहेको मध्ये सर्लाहीको वलरा नगरपालिका र महोत्तरीको सम्सी गाउँपालिकाको यो वर्ष पनि श्रेस्ता पेश गरी लेखापरीक्षण नगराएको महालेखाले जनाएको छ।

कानुनमा भएको व्यवस्थाको पालना नगर्ने र लेखापरीक्षण समेत नगराउने स्थितिले आर्थिक अनुशासनको पालना हुने अवस्था नदेखिएकोले लेखापरीक्षण नगराउने स्थानीय तहको अनुदान रोक्का गर्नेसम्मको कारवाही अगाडि बढाउन महालेखाले सरकारलाई सुझाव दिएको छ।