राष्ट्र बैंक भन्छ-महँगी घट्यो, तलब र ज्याला बढ्यो

0
Shares

नेपाल राष्ट्र बैंकका अनुसार २०७७ जेठमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.५४ प्रतिशतमा सिमित भएको छ। राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१६ प्रतिशत रहेको थियो। 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.४१ प्रतिशत र गैर– खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८७ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत दाल तथा गेडागुडी, सुर्तिजन्य वस्तु, मसला, अल्कोहलिक पेय पदार्थ र फलफूल उपसमूहको मूल्य वृद्धि उच्च छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ४.४३ प्रतिशत, तराईमा ४.८६ प्रतिशत, पहाडमा ४.१३ प्रतिशत र हिमालमा ४.३४ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ जेठमा यी क्षेत्रहरुमा क्रमशः ७.१० प्रतिशत, ५.८० प्रतिशत, ५.७० प्रतिशत र ६.४६ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७७ जेठमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.९६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.३२ प्रतिशत रहेको थियो

समीक्षा महिनामा मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ६.६० प्रतिशत र ३.६२ प्रतिशत रहेको छ । समीक्षा महिनामा उपभोग्य वस्तु र निर्माण सामग्रीको थोक मूल्य क्रमशः ०.३४ प्रतिशत र ४.६७ प्रतिशतले घटेको छ ।

२०७७ जेठमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ७.४८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ९.५४ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क १३.५५ प्रतिशत र ज्यालादर सूचकाङ्क ५.८५ प्रतिशतले बढेको छ ।