धितोपत्र बोर्डले प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटल संचालन अनुमति दिने

0
Shares

नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षमा प्राइभेट इक्वटी फण्ड र भेन्चर क्यापिटल संचालन अनुमति दिने भएको छ । बोर्ड चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो।

धितोपत्र बोर्डले चालु आर्थिक वर्षमा वस्तु विनिमय बजार सञ्चालनका लागि कम्पनी स्थापना गर्न र वस्तु कारोबार व्यवसायीहरुलाई अनुमति दिने भएको छ ।

यस्तै धितोपत्र केन्द्रीय निक्षेप सेवालाई स्तरीय बनाउने, सूचीकृत सरकारी ऋणपत्रहरुको पूर्णरुपमा अभौतिकीकरण गरी सरकारी ऋणपत्र तथा संस्थागत ऋणपत्रको दोस्रो बजारमा नियमित कारोवार हुने व्यवस्था मिलाउने भएको छ ।

धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट प्रणाली टि प्लस टु मा हुने तथा नेप्सेको टिएमएस लाई प्रभावकारी बनाउने बोर्डको योजना छ । त्यस्त नेप्से परिसूचक र सोको गणना विधिलाई समसामयिक बनाई धितोपत्र बजारमा स्थिरता ल्याउने उपायहरु अवलम्बन गर्ने सम्बन्धमा अध्ययन गर्ने विषयसमेत राखेको छ।

यसैगरी केन्द्रीय तथ्याङ्क भण्डारणसम्बन्धी सफ्टवेयर विकास गरी तथ्याङ्कहरुको नियमित प्रशोधन तथा अभिलेख राख्ने व्यवस्था गर्ने र बोर्डको आन्तरिक कार्य प्रणालीलाई प्रविधिमैत्री बनाउन आवश्यक सफ्टवेयरहरु खरिद तथा विकास गर्ने योजनासमेत अघि सारेको छ ।

यसैगरी धितोपत्र बजारको दीर्घकालीन विकासका लागि ट्रष्ट ऐन र धितोपत्र व्यवसायीहरुको नियमनलाई प्रभावकारी बनाउन धितोपत्र कारोवार ऐन मस्यौदा अन्तिमरुप दिने बोर्डको योजना छ।

धितोपत्र बजारमा सूचीकृत जलविद्युत कम्पनीहरुको परियोजना संचालन अवधि समाप्त भएपछि सम्बन्धित कम्पनी तथा शेयरधनीको अवस्थाका सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्थाका लागि अध्ययन गर्ने बोर्डको योजना छ । गैर आवासीय नेपालीलाई प्रवेश गराउन आवश्यक कार्यविधि तर्जुमा गर्ने योजना पनि नीति तथा कार्यक्रमा छ ।

धितोपत्र बोर्डले संघीयताको अवधारणासंग पूँजी बजारलाई जोड्ने नीति लिएको छ। यस्त सेटलमेन्ट ग्यारेन्टी फण्डको आकार बढाउने भएको छ । धितोपत्र व्यवसायीको क्षेत्र, दायरा तथा कार्यहरू विस्तार गर्ने योजना पनि अघि सारेको छ ।