बैंकिङ्ग प्रणालीमा पैसा थुप्रियो, रिभर्स रिपो मार्फत २० अर्ब खिच्दै राष्ट्र बैंक

0
Shares

बैंकिङ्ग प्रणालीमा अत्याधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट बिहीबार २० अर्ब रुपैयाँ  खिच्ने भएको छ। बैंकले रिभर्स रिपो जारी गरेर तरलता खिच्न लागेको हो।

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा लगानी योग्य पूँजी (तरलता) अत्याधिक भएपछि साउन ८ गते गते बिहीबार एक साता अवधिको लागि २० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने गरी रिभर्स रिपो जारी गरेको हो। रिपोमा सहभागी हुन चाहने बैंकहरुले बिहीबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले ७ दिनका लागि साउन १५ गते परिपक्व हुने गरी उक्त रिभर्स रिपो जारी गरेकोे हो। रिभर्स रिपो किन्नका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने छ। ब्याजदर निर्धारण भने निक्षेप संकलन उपकरण मार्फत् बोलकबोल प्रक्रियाबाट हुनेछ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ्ग प्रणालीमा बुधबारसम्म करिब २ खर्ब (१ खर्ब ९१ अर्ब) तरलता रहेको छ।

वित्तीय क्षेत्रमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले अन्तर बैंकिङ ब्याजदरलाई नियन्त्रणमा राख्न तरलता प्रशोचन गर्न लागेको हो। तरलता धेरै हुँदा राष्ट्र बैंकले विभिन्न उपकरणहरुको प्रयोग गरेर तरलता प्रशोचन गर्ने गर्दछ भने कमी हुँदा राष्ट्र बैंकले उपकरणबाट तरलता समेत प्रवाह गर्दै आइरहेको छ।

लकडाउनका कारण कर्जा प्रवाह हुन नसकेपछि बैंकिङ्ग प्रणालीमा प्रशस्त तरलता थुप्रिएको छ। कर्जा प्रवाह सुस्त बन्दा साउन लागेपछि अधिकांश बैंकहरुले कर्जाको ब्याजदर समेत एकल अंकमा झार्न थालेका छन्।