नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न बंगलादेशलाई आग्रह

0
Shares

सरकारले बंगलादेश सरकार र त्यहाँको निजी क्षेत्रलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग नेपालका लागि बंगलादेशका राजदूत मास्फीबिन्ते साम्सले गरेको बिदाइ भेटमा उनले ऊर्जा क्षेत्रमा बंगलादेश सरकार तथा निजी क्षेत्रका लगानीकर्तालाई लगानी भित्र्याउन आग्रह गरेका हुन् ।

उनले नेपालको ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण सिर्जना गरिएकाले लगानी सुरक्षामा ढुक्क रहन आग्रह गरे । नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारी भएको स्मरण गर्दै मन्त्री पुनले त्यसलाई दुई देशबीच ऊर्जा व्यापारको कोशेढुङ्गाको संज्ञा दिए ।

नेपाल र बंगलादेशबीच २०७५ भदौ २८ मा ढाकामा भएको ‘पावर एण्ड इनर्जी’ सम्मेलनमा बंगलादेशले नेपालबाट आगामी सन् २०४० भित्र नौ हजार मेगावाट बिजुली खरिद गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो । त्यसअघि मन्त्री पुन र बंगलादेशका ऊर्जामन्त्री नसरुल हमिदीबीच ऊर्जा सहकार्य इनर्जी को–अपरेशन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

भेटमा राजदूत साम्सले नेपाल–बङ्गलादेश ऊर्जा क्षेत्रमा सहकार्यका लागि वातावरण निर्माणमा मन्त्री पुनको नेतृत्वदायी र निर्णायक भूमिका रहेको भन्दै प्रशंसा गरे । “नेपाल र बंगलादेशकाबीचमा ऊर्जा क्षेत्रमा सहकार्यको राम्रो वातावरण बनेको छ”, उनले भने, “तपाईंको कुशल नेतृत्व नभएको भए यो सम्भव थिएन ।”

राजदूत साम्सले कोभिड–१९ महामारीका कारण नेपाल र बंगलादेश दुवैले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको बताउँदै आर्थिक–सामाजिक चूनौतीको मिलेर सामना गर्नुपर्नेमा जोड दिए । कोभिड–१९ का कारण रोकिएका उच्चस्तरीय भ्रमण महामारी अन्त्यसँगै सुरु हुने र नेपालको ऊर्जा क्षेत्रमा लगानीको ठोस खाकाबारे वार्ता हुने राजदूत साम्सको भनाइ थियो ।

यस्तै राजदूत साम्सीले मन्त्री पुनलाई कोभिड–१९ महामारी अन्त्य लगत्तै बंगलादेश भ्रमणको निम्तासमेत दिए। मन्त्री पुनले बंगलादेशका राष्ट्रपति अब्दुलहमिद र समकक्षी (ऊर्जामन्त्री) नसरुल हमिदीलाई नेपाल भ्रमणको निम्ता दिए । राजदूत साम्सी आफ्नो साम्स चारवर्षे कार्यकाल पूरा गरी केही दिनपछि बंगलादेश फर्कंदै छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।