एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको आईपीओ साउन १६ बाट बिक्रीमा आउने

0
Shares

एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आईपीओ साउन १६ गतेबाट बिक्रीमा आउने भएको छ । कम्पनीले जारी पूँजीको ३० प्रतिशत आईपीओ बिक्री गर्न लागेको हो।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ३३ लाख ९८ हजार ४६ कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

कुल ३३ लाख ९८ हजार ४६ कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता शेयर सामूहिक लगानी कोषका लागि तथा २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा लगानीकर्ताले साउन १६ गतेबाट साउन २१ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस समयभित्र सबै शेयर बिक्री नभएमा भदौ ३ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका अलावा मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ ।

एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी सन् २०१२ मा स्थापना भएको कम्पनी हो । जलविद्युत क्षेत्रका माध्यमबाट नेपालको राष्ट्रिय विकासमा योगदान पुर्याउने यस कम्पनीको उद्देश्य छ । गैरआवासीय नेपालीहरुले यो कम्पनीलाई प्रवद्र्धन गरेका छन् । जसमा झण्डै ८ सय जनाको लगानी छ । यसको केन्द्रीय कार्यालय काठमाडौंमा छ ।

कम्पनीले माथिल्लो मैलुङ खोला हाइड्रोपावर (१४.३ मेगावट), स्विट गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन (२८.१ मेगावट), मध्य तमोर हाइड्रोपावर (७३ मेगावट) र हिमालयन पावर पार्टनर (२७ मेगावट), लगायतका परियोजनामा लगानी गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा २ करोड ४१ लाख ७० हजार रुपैयाँ सञ्चित नाफा कमाउने प्रक्षेपण गरेको छ। आईपीओ बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब १३ करोड नाघ्नेछ।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्गस् नेपालले केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।