हतारमा बैठक राखेर अनिश्चितकालका लागि साधारण सभा धकेलियो : चन्द्र ढकाल

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले महासंघ पदाधिकारीको बैठकले हतारमा निर्णय गरेर महासंघको साधारण सभा अनिश्चितकालका लागि धकेलेको बताएका छन् ।

बिहीबार बसेको महासंघको पदाधिकारी बैठकले साउन २६ र २७ गते गर्ने भनिएको महासंघको साधारण सभा तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो ।

पदाधिकारी बैठकबाट भएको उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै ढकाल समूहले शुक्रबार पत्रकार सम्मेलन गरी आपत्ति जनाएको हो । महासंघका पदाधिकारीहरुलाई बैठकमा उपस्थित हुने समयसम्म नदिएर १२ घण्टा अगाडि सूचना जारी गरी बैठक बोलाएर कार्यसमितको अधिकारलाई कुल्चने काम भएको समेत ढकालको भनाई छ।

साउन २६ र २७ गतेको साधारण सभा गर्न सरकारसँग सहजीकरणका लागि अनुरोध गरिरहेका बेला सरकारको निर्णय समेत नकुरेर हतार हतारमा निर्णय गरिएकोप्रति ढकालले गम्भीर आपत्ति जनाएका हुन् । उनले उद्योग वाणिज्य महासंघको विधान अनुसार साधारण सभा हुनुपर्छ भनिरहँदा पदाधिकारी बैठकबाट कार्यसमिति सदस्यको अधिकार हनन् गरी निर्णय गर्ने काम भएको आरोप समेत लगाए ।

ढकालले लकडाउन कै बीचमा सरकारले केन्द्रदेखि प्रदेशसम्मको संसद अधिवेशन गरेको अवस्थामा स्वास्थ्यसम्बन्धी पोर्टकलहरु पूरा गरेर महासंघको साधारण सभा गर्न सक्ने अवस्था हुँदाहुँदै पनि निर्वाचन धकेल्ने काम गरिएको बताए । “मलाई अर्को चैतमा चुनाव सारे पनि कुनै फरक पर्दैन तर विधान र विधि अनुसार अगाडि बढाउनुपर्छ मात्र भनेको हो । पदमा पुग्न हतार भयो भनेर गलत प्रचार गरियो यसप्रति आपत्ति छ,” ढकालले भने ।

पत्रकार सम्मेलनमा महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकाल, पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज कर्णिकार तथा जिल्ला नगरका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ साउन २०७७, शुक्रबार  १४ : २६ बजे