धितो लिलामी तीव्र पार्दै एनआईसी एशिया बैंक, कोभिडबाट अतिप्रभावित रेष्टुरेण्ट पनि बिक्रीमा

0
Shares

लकडाउनको बेला नै धितो लिलामको सूचना निकालेर राष्ट्र बैंकको निर्देशनपछि ब्याक भएको एनआईसी एशिया बैंकले मंगलबार एकसाथ ठूलो परिमाणमा गैर बैंकिङ्ग सम्पत्ति र धितो लिलामी बिक्रीको सूचना प्रकाशित गरेको छ।

लकडाउन खुलेसँगै ऋण उठाउने तयारीका साथ बैंकले प्रकृया अगाडि बढाएको हो। बैंकले देशभर २७ स्थानमा आफ्नो नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्रीका लागि ७ दिन (साउन २० गते) भित्र बोलपत्र पेश गर्न आह्वान गरिएको छ। लिलामाीमा व्यक्ति, फर्म, कम्पनी तथा संघ संस्थाले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

यसैगरी बैंकबाट ऋण लिई कर्जा चुक्ता नगरेका ७ जना ऋणीहरुको धितो लिलामीको लागि सूचना प्रकाशित गरेको छ। बैंकबाट पटक पटक लिखित तथा मौखिक रुपमा जानकारी गराउँदा समेत शर्त बमोजिम कर्जा चुक्ता नगरेको र ३५ दिने सूचना जारी गर्दा समेत बाँकी कर्जाको साँवा तथा ब्याज भुक्तानी नगरेकाले धितो सुरक्षण वापत लेखिएको चल अचल सम्पत्ति बिक्रीमा ल्याइएको स्पष्ट पारेको छ।

तर राष्ट्र बैंकले मौद्रिक नीति मार्फत पर्यटन क्षेत्रभित्र होटल, रिर्सोट, रेष्टुराँ, पर्यटन आवास सहितलाई अति प्रभावित क्षेत्रभित्र राखेको छ। कोभिड १९ बाट प्रभावित क्षेत्रमा जारी कर्जाको साँवा तथा ब्याज रकमलाई कुनै किसिमको थप पेनाल ब्याज/शुल्क/हर्जाना र ब्याजको ब्याज नलिई समय थप गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

कर्जाको किस्ता र ब्याज भुक्तानी समय बढाउन राष्ट्र बैंकको निर्देशन

यसैबीच बैंकले काठमाण्डौं महानगरपालिका बौद्ध वडा नम्बर ६ स्थित टाशिलिंक होटल एण्ड रेष्टुरेन्ट सहित ७ जना ऋणीहरुले धितो राखेको सम्पत्ति लिलाम बढाबढमा बिक्रीका लागि सूचना प्रकाशित गरेको छ।

उक्त रेष्टुरेन्टको नाममा रहेको जग्गा र सो जग्गाले चर्चेको र भविष्यमा चर्चिने सम्पूर्ण लिगलगापात समेत १५ दिनभित्र र यसअघि १५ दिने लिलामी बिक्रीको बोलपत्र प्रकाशित गरिसकेको ६ जना ऋणीहरुको धितो लिलामीका लागि ७ दिनभित्र शिलबन्दी बोलपत्र पेश गर्न सकिने बैंकले जनाएको छ।

बैंकले देशभर २७ स्थानमा आफ्नो नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति लिलामीका लागि बैंकको त्रिपुरेश्वर स्थित कर्जा असुली विभागबाट एक हजार शुल्क तिरेर बोलपत्र सम्बन्धी शर्तबन्देज सहितको फारम प्राप्त गर्न सकिनेछ भने साउन २१ गते ३ बजे बोलपत्र खोलिने बैंकले जनाएको छ ।

यस्तै अन्य ७ प्रकारका धितो लिलामीका लागि बैंकको त्रिपुरेश्वर स्थित कर्जा असुली विभागबाट एक हजार शुल्क तिरेर बोलपत्र सम्बन्धी शर्तबन्देज सहितको फारम प्राप्त गर्न सकिनेछ। ६ जना ऋणीको धितोलिलाम साउन २१ गते ३ बजे र रेष्टुरेन्टको ऋणीको बोलपत्र साउन ३० गते ३ बजे कर्जा असुली विभाग त्रिपुरेश्वरमा खोलिने बैंकले जनाएको छ।

के भन्छ एनआईसी एशिया बैंक

यस सम्बन्धमा बैंकसँग कुराकानी गर्दा चार घण्टाको प्रयासपछि सम्पर्कमा आएका बैंकका एक अधिकारीले नोटबजारसँग कुराकानी गर्दै लिलामी हुन लागेको चल अचल सम्पत्ति पुसभन्दा अगाडिको रहेको जानकारी दिए। आफ्नो नाम उल्लेख नगर्न अनुरोध गरेका उनले केही समयपछि बैंकका अर्का अधिकारीले सम्पर्क गर्ने भन्दै टेलिफोन राखे।

राष्ट्र बैंक के भन्छ ?

नेपाल राष्ट्र बैंकका सह प्रवक्ता नारायणप्रसाद पोखरेलले नोटबजारसँग कुराकानीमा भने राष्ट्र बैंकले कर्जा नतिर्ने बैंकका ऋणीहरुको धितो लिलामी गर वा नगर भनेर कुनै पनि निर्देशन दिने गरेको छैन।

बैंकहरुले ऋणीहरुको ऋणको अवस्था, आवश्यकता तथा प्रयोजन हेरेर लिलामी प्रकृया अगाडि बढाउन सक्छन्। तर मौद्रिक नीति मार्फत सम्बोधन भएको क्षेत्रमा कर्जाको पुनरसंरचना र पुनरतालिकीकरण गरिएको छ।

त्यसमा ऋणीहरुलाई कर्जाको सावा र ब्याज भुक्तानी समय र सहुलियत दिएको छ, त्यस्ता क्षेत्रमा प्रवाह भएको कर्जाको धितोलिलामी गर्दा राष्ट्र बैंकले मौद्रिक नीति मार्फत गरेको व्यवस्थाको पालना गर्नुपर्छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।