रोजगारदाता र ट्रेड युनियनहरुबीच लकडाउन अवधिको तलब दिने सहमति

0
Shares

लकडाउन अवधिको श्रमिकको पारिश्रमिक भुक्तानी लगायतका विषयमा रोजगारदाता र ट्रेड युनियनहरुबीच ७ बुँदे सहमति भएको छ । दुईपक्षबीच भएको सहमति लागू गर्न सरकारलाई सिफारिश गर्ने निर्णय समेत भएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड -१९ महामारीको कारण आर्थिक एवं सामाजिक क्षेत्रमा पर्न गएको प्रभावका साथै उद्योग व्यवसाय एवं आर्थिक गतिविधमा आएको सिथिलता, प्रतिष्ठानले श्रमिकको पारिश्रमिक भुक्तानी गर्न देखिएका समस्या एवं अधिकांश श्रमिकको रोजगारी जोखीममा पर्न गएको यथार्थतालाई मनन गर्दै उक्त सहमति गरिएको जनाइएको छ ।

कोभिड महामारीले सिर्जना गरेको कठिन एवं चुनौतीपूर्ण अवस्थामा उद्योग व्यवसायको वचाउको साथै श्रमिकको रोजगारी जोगाउन तथा उद्योग व्यवसाय क्षेत्रलाई चलायमान गरी यथासक्य चाडो पूर्ववत अवस्थामा फर्काउन आवश्यक भएको वस्तु तथ्यलाई आत्मसाथ गर्दै, उद्योग व्यवसाय र रोजगारदाताहरुको प्रतिनिधित्व गर्ने संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र ट्रेड युनियन महासंघहरु वीच पटक-पटक भएको द्धिपक्षीय वार्ता र छलफलपश्चात सहमति भएको हो।

यस्ता छन् सहमतिका बुँदाहरु 

– उद्योग प्रतिष्ठानले २०७६ चैत्र महिनाको पारिश्रमिक भुक्तानीको हकमा लकडाउन अवधि समेतका लागि साविक वमोजिम पूरा पारिश्रमिक भुक्तानी गर्ने ।

-श्रमिकको पारिश्रमिक वारे नेपाल सरकारको निर्णयको सन्र्दभमा २०७७ वैशाख महिनाको लागि श्रमिकको ५० प्रतिशत पारिश्रमिक भुक्तानी गरी फरफारक गर्ने र २०७७ जेष्ठ महिनाको हकमा लकडाउनको कारण काममा उपस्थित हुन नसकेका श्रमिकलाई पाउने पारिश्रमिकको ५० प्रतिशत मात्र भुक्तानी गर्ने ।

-उद्योग व्यवसाय क्षेत्रको प्रकृति फरक फरक हुने भएकोले व्यवसायको प्रकृति र अवस्था अनुसार उद्योग प्रतिष्ठानको सहज संचालन, लकडाउन अवधिको पारिश्रमिक भुक्तानी र श्रमिकहरुलाई आलोपालो गरी काममा लगाउने लगायतका विषयमा सम्बन्धित बस्तुगत संघ तथा सो क्षेत्रसंग संबन्धित उद्योग÷प्रतिष्ठानका रोजगारदाता र प्रतिष्ठान स्तरका ट्रेड युनियनहरुले पनि आपसी छलफल गरी सहमती गर्न सक्नेछन ।

-लकडाउन अन्त्य भर्ई उद्योग व्यवसाय संचालन हुन थालेकाले काममा आउने श्रमिकलाई पारिश्रमिक भुक्तानी गर्ने तर आंशिक रुपमा उद्योग व्यवसाय संचालन गर्नुपर्ने भई केही श्रमिकलाई मात्र काममा लगाउन सकिने अवस्था भएमा सबै श्रमिक कर्मचारीहरुको रोजगारी सुनिश्चितताको लागि उद्योग प्रतिष्ठानले श्रमिक संख्या यकिन गरेर श्रमिकहरुलाई कार्य सिफ्ट तोकि आलो पालो काममा लगाउन सकिनेछ । सबै श्रमिकलाई समानुपातिक ढंगबाट काम लगाई श्रमिकले काम गरेको अनुपातमा पारिश्रमिक भुक्तानी गरिने छ ।

-बन्दा वन्दीको अवधीमा वन्द रहेका उद्योग संचालन गर्ने क्रममा सम्पूर्ण उद्योग प्रतिष्ठानहरुले कर्मचारीको स्वास्थ्य सुरक्षाको लागि आवश्यक व्यवस्था मिलाउने ।

– कोरोना भाईरस संक्रमणले सिर्जना गरेको अभूतपूर्ण संकट, मानव स्वास्थ्यको सुरक्षामा देखिएको चूनौती, आर्थिक गतिविधिमा परेको असरका साथै श्रमिक वर्ग र श्रम क्षेत्रमा परेको प्रभाव न्यूनिकरण र अर्थतन्त्रको छिटो पुनउत्थानको लागि अवलम्वन गर्नुपर्ने उपायका वारेमा नेपाल सरकारलाई रोजगारदाता संस्था र ट्रेड युनियनहरुले संयूक्त रुपमा अनुरोध गर्ने एवं सुझाव दिने साथै उद्योग व्यवसायको संचालन, श्रम सम्वन्ध सुधार र श्रम क्षेत्रका समस्या समाधान गर्न आपसी संवाद र सहकार्यलाई थप निरन्तरता दिने ।

– विभिन्न स्थानमा अझै कायम वन्दावन्दीको कारणवाट उद्योग प्रतिष्ठानमा काम गर्न आउन समस्यामा परेका श्रमिक/कर्मचारीलाई कार्यरत उद्योग प्रतिष्ठान रहेको जिल्ला/नगर सम्म आउने वातावरण सरकार र व्यवस्थापनले मिलाउने ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।