भदौ पहिलो हप्ताभित्र उद्योग नवीकरण नगरे जरिवाना, उपत्यका बाहिरकालाई थप एक महिना म्याद

0
Shares

उद्योग विभागले लकडाउन खुलेको १ महिनाभित्र उद्योग नवीकरण गर्न सरोकारवालाहरुलाई निर्देशन दिएको छ ।

विभागले काठमाडौं उपत्यकामा साउन ८ र उपत्यका बाहिर भदौ १ बाट लकडाउन खुलेको मानिने जनाउँदै उद्योग नवीकरणका लागि एक महिना अवधि कायम गरिएको जनाएको छ । 

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत चैतदेखि लागू गरेको लकडाउन साउन ६ गतेबाट अन्त्य गर्ने घोषणा गरेको र भदौ १ गतेबाट आन्तरिक तथा बाह्य उडान समेत संचालन हुनेभएपछि लकडाउन खुलेको एक महिनाभित्र उद्योग नवीकरण गर्न सूचना जारी गरेको छ।

विभागका अनुसार काठमाडौं उपत्यकाभित्रका उद्योगीले भदौ ८ गतेसम्म र उपत्यका बाहिरका उद्योगीले बाटोको म्याद बाहेक असोज ८ गतेसम्म उद्योग नवीकरण गरिसक्नु पर्नेछ ।

लकडाउन अवधिमा म्याद गुज्रिएको जरिवाना नलाग्ने तर लकडाउनको अवस्था प्रारम्भ हुनभन्दा अगाडि चैत ९ गते अघि नै म्याद सकिएको भए बिलम्ब शुल्क तिर्नुपर्ने विभागले जनाएको छ ।

उनीहरुलाई थप समयको सुविधा नदिइएको विभागले जानकारी गराएको हो। त्यसको हकमा दिनगन्ती जरिवाना लाग्नेछ। चैत ९ गतेसम्म लाग्ने शुल्क, विलम्ब शुल्क, जरिवाना रकम भने उद्योगहरुले बुझाउनुपर्नेछ।

विभागका अनुसार उद्योग नवीकरण, पेटेन्ट, डिजाइन र ट्रेडमार्क दर्ता नवीकरण भदौ पहिलो हप्ताभित्र गरिसक्नुपर्नेछ। साथै व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्ने म्याद थपका लागि निवेदन दिने समय पनि भदौ पहिलो सातासम्मको लागि मात्रै थप गरिएको छ।

सरकारले कर बुझाउने मिति असार १५ सम्म तोकेको थियो। तर सर्वोच्च अदालतले लकडाउन खुलेको १ महिना समय दिन अर्थ मन्त्रालयको नाममा आदेश जारी गरेको थियो। सोही आदेशलाई आधार मानेर विभागले सूचना जारी गरेको जनाएको छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।