नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले गत आर्थिक वर्षमा ३१६ ग्राहकलाई कालोसूचीमा राखी कारवाही गरेको छ। लामो समयसम्म बक्यौता नतिर्ने ग्राहकलाई कालोसूचीमा राखिएको हो ।
लाइन काटेको छ महिनासम्म पनि बक्यौता नतिर्ने ग्राहकलाई कालोसूचीमा राखिएको केन्द्रले जनाएको छ । कार्यालयका प्रमुख सुरेशकुमार महतोका अनुसार कालोसूचीमा पछिल्लो चरणमा परेका ४६ जनाबाट १६ लाख २३ हजार १८८ र पहिलो चरणका २७० ग्राहकबाट रु ७२ लाख ५५ हजार ५२४ बक्यौता उठाउनुपर्ने हुन्छ ।
महतोले उनीहरुमध्ये ११ ग्राहकले कालोसूचीमा राखेपछि बक्यौता रकम तिरेका छन् । उनीहरुबाट रु सात लाख ९२ हजार २४४ असुली भएको कार्यालयले जनाएको छ ।
कालोसूचीमा राखिएका ग्राहक नेपालको जुनसुकै स्थानमा गएर बसेको भए पनि उनीहरुको लाइन काट्ने र असुली गर्ने, बैंक वित्तीय संस्थालाई उनीहरुको विवरण जानकारी गराई सेवा रोक्नेलगायतका कामको प्रक्रिया शुरु गरिएको महतोले जानकारी दिए। कार्यालयले सोही समयमा एक हजार ६५३ को लाइन काटेको जनाएको छ । उनीहरुबाट दुई करोड ७९ लाख ५३ हजार ४३५ असुली हुनुपर्नेमा एक हजार १५० जनाबाट तीन करोड दुई लाख ३३ हजार १५८ असुली भएको उनले जानकारी दिए।
भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकाको अधिकांश भाग हेर्दै आएको कार्यालयमा हाल ५७ हजार ग्राहक रहेका छन्। उनीहरुबाट वार्षिक १४ करोड ९७ लाख ६३ हजार ६६९ युनिट विद्युत् खपत हुने गरेको छ।
भरतपुर महानगरमा ९८ प्रतिशत विद्युतीकरण भई सकेको छ भने इच्छाकामना गाउँपालिका–१ मा रहेका ७०० घरधुरी विद्युतीय सेवाबाट वञ्चित रहेको कार्यालयले जनाएको छ।
विद्युतीकरण नभएका क्षेत्रका लागि पूर्ण विद्युतीकरण अन्तर्गत १६ करोड ६३ लाख २६ हजार बजेट विनियोजन गरिएको र ठेक्काको काम सम्पन्न भई यही आर्थिक वर्षमा पूर्ण विद्युतीकरण गरिने महतोले जानकारी दिए।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया