बैंकिङ प्रणालीमा २ खर्ब अधिक तरलता, अन्तरबैंक ब्याजदर १ प्रतिशत मुनि

0
Shares

गत आर्थिक वर्षको भर्खरै सकिएको अवस्थाले सरकारी खर्चबापतको रकम बैंकमा जम्मा हुँदा र वैदेशिक रोजगारीमा गएकाहरुले नेपाल पठाउने रकम (रेमिट्यान्स) बढेपछि बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अनुसार बुधबारसम्म वित्तीय प्रणालीमा २ खर्ब बढी लगानीयोग्य रकम जम्मा भएको छ । यो रकम अनिवार्य नगद मौज्दात (सीआरआर) बाहेकको हो । हाल बैंकिङ प्रणालीबाट कर्जा प्रवाह हुन नसक्दा पनि बैंकमा निक्षेप जम्मा भएको हो।

कोभिडको जोखिम अझै नहटिसकेको र लकडाउन खुकुलो भए पनि आर्थिक गतिविधि पूर्णरूपमा सञ्चालन आउन नसक्दा लगानीयोग्य रकम जम्मा भएको राष्ट्र बैंकले बताएको छ । प्रणालीमा तरलता थुप्रिएसँगै अन्तरबैंक ब्याजदर १ प्रतिशतभन्दा तल झरेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।

गत आर्थिक वर्षमा वाणिज्य बैंकमा मात्र ५ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । अघिल्लो आवको असारमा २८ खर्ब ७८ अर्ब रहेको बैंकहरुको निक्षेप गत आवको सोही अवधिमा निक्षेप करिब २०.२९ प्रतिशत बढेर ३४ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको हो ।

बैंकर्स संघका अनुसार हालसम्म (९ गतेसम्ममा) वाणिज्य बैंकहरुमा कुल २८ खर्ब ६७ अर्ब कर्जा प्रवाह गरेका छन् । २०७६ असार अन्तिम सातासम्म २४ खर्ब ९८ अर्ब कर्जा लगानी गरेका बैंकहरुको कर्जा लगानी १४.७७ प्रतिशतले वृद्धि भएको छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।