उपत्यका प्रवेश गर्ने नाकामा पनि कोभिड-१९ परीक्षण

0
Shares

सरकारले पछिल्लो समय काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा पनि परीक्षण गर्न थालेको छ । परीक्षणको क्रममा आज नागढुङ्गामा एक हजार ३०७ जनामा गरिएको परीक्षणमा १६ जनामा कोरोना पोजेटिभ देखिएको छ।

यसैगरि फर्पिङमा तीन हजार ४८२ जनामा गरिएको परीक्षणमा १३ र साँगामा ६ हजार ६४ जनामा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी गराएको छ । हाल दश हजार ४५२ जना क्वारेन्टिनमा रहेका छन् । विगत २४ घण्टामा ६५ जना निको भएर घर फर्केका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा आज मात्रै २५९ जना नयाँ सङ्क्रमित भेटिएका छन् भने यो सँगै हालसम्म जम्मा सङ्क्रमितको सङ्ख्या २१ हजार ९०० पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा ७ हजार ६८७ पीसीआर नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको बताए। हालसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ९२५ रहेको छ।

त्यसैगरी काठमाडौं उपत्यकामा विभिन्न ७ परीक्षण केन्द्रमा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ४८, ललितपुरमा एक तथा भक्तपुरमा १३ व्यक्तिलाई कोरोना सङ्क्रमण देखिएको हो। हालसम्मा ४ लाख ६ हजार ५९४ को परीक्षण गरिएको छ ।

सङ्क्रमितमध्ये १५ हजार २६ जना उपचार पछि निको भएर घर फर्केका छन्। आज थप एक जनाको कोरोनाको कारण मृत्यु भएको छ। मोरङ जिल्ला घर भएका ७७ वर्षका पुरुषको कोरोना सङ्क्रमणको कारण हिजो मृत्यु भएको हो। योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट ५८ जनाको मृत्यु भएको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० साउन २०७७, मंगलबार  १८ : ५३ बजे