अनलाइन प्रणालीमा देखिएको समस्या छानबिन गर्न लगानीकर्ताको माग

0
Shares

शेयर बजारका लगानीकर्ताले अनलाइन प्रणालीमा देखिएको समस्याप्रति धितोपत्र बोर्डको ध्यानाकर्षण गराउँदै छानबिन र दोषीलाई कारबाही गर्न माग गरेका छन्।

शेयर लगानीकर्ता संघ नेपालले विज्ञप्ति जारी गर्दै २०७७ साउन २१ गते अनलाइन प्रणालीमा देखिएको समस्याप्रति संघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै अनलाइन प्रणालीमा देखिएको समस्याको छानबिन र आगामी दिनमा यस्ता घटनाहरूको पुनरावृत्ति नहुने प्रत्याभूति आम लगानिकर्ताहरूमा तत्काल गर्न बोर्ड समक्ष माग समेत गरेको छ ।

नियमित समयभन्दा ४५ मिनटपछि कारोबार सुरू हुनु र त्यसमा पनि नेपाल स्टक एक्सचेञ्जको वेबसाइट र टिएमएसमा फरक-फरक इन्डेक्स देखिनुका साथै कुनैमा बढेको र कुनैमा घटेको विरोधाभासपूर्ण सूचक देखिनु हदैसम्मको लापरवाही भएको संघको ठहर छ ।

दैनिक कारोबार संचालन गर्ने जिम्मेवारी पाएको नेप्सेबाट बारम्वार आइरहने यस्ता समस्याहरूमा जिम्मेवार हुँदै दीर्घकालीन समस्या समाधानमा संवेदनशील भएर लाग्नुपर्ने टड्कारो आवश्यकता रहेको संघको भनाई छ ।

संघले पूँजीबजार जस्तो संवेदनशील क्षेत्रमा लापरवाही गर्ने व्यक्ति वा निकायलाई कहीँ कतैबाट पनि संरक्षण र छुट हुनुहुँदैन भन्दै सही  कार्य गर्नेलाई पुरस्कार र गलत कार्य गर्नेलाई दण्ड दिन समेत माग गरेको छ ।   

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।