कोरोना बीमा गर्दै हुनुहुन्छ ? बीमा गराउनु अघि जान्नै पर्ने कुरा यस्ता छन्

0
Shares

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट उत्पन्न हुन सक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न बीमा समितिले कोरोना बीमालेखको मापदण्ड लागू गरेको छ ।

समितिले लागू गरेको कोरोना बीमालेख कुनै पनि परिवारले एउटा कम्पनीबाट एक पटकका लागि मात्र खरीद गर्न पाउने व्यवस्था छ। साथै, बीमालेखको अवधि २०७८ साल असार मसान्तसम्म मात्र रहने प्रष्ट पारेको छ ।

कसले खरीद गर्न पाउँछ ?

बीमालेख खरीद गर्नका लागि नेपाली नागरिक हुनुपर्नेछ । कुनै नेपाली नागरिक भारत वा तेस्रो मुलुकबाट नेपाल फर्केको रहेछ भने १५ दिन अनिवार्य रुपमा क्वारेन्टीनमा र बाँकी १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात आवश्यक पर्नेछ ।

सामूहिक कोरोना बीमाका लागि आफ्नो एकाघर परिवारका सदस्यहरु उल्लेख गरिएको स्व:घोषणा सहित सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात चाहिनेछ । यस्तै एकल वा सामूहिक कोरोना बीमा खरीद गर्न चाहने व्यक्ति वा परिवार विगत ३० दिनसम्म नेपालमा बसोबास गरेको स्थानीय तहले प्रमाणित गरेको कागजात आवश्यक पर्नेछ ।

कति लाग्छ शुल्क ?

कोरोना बीमाको बीमाङ्क रकम १ लाख र ५० हजार गरी दुई प्रकारको कायम गरिएको छ । १ लाख बीमाङ्क कायम भएको बीमालेखका लागि प्रतिव्यक्ति १ हजार र ५० हजारको बीमाङ्कका लागि प्रतिव्यक्ति ५०० बीमाशुल्क लाग्छ ।

यदि सगोलमा बसेको परिवारका सम्पूर्ण सदस्यहरुको सामूहिक बीमा गरिएको खण्डमा १ लाखको बीमाङ्कका लागि प्रतिव्यक्ति ६०० र ५० हजारको बीमाङ्कका लागि प्रतिव्यक्ति ३०० बीमाशुल्क कायम गरिएको छ ।

अनुदान

सरकारी सेवामा रहेका कर्मचारीहरुको सामूहिक कोरोना बीमा गर्दा नेपाल सरकारले शतप्रतिशत अनुदान उपलब्ध गराउनेछ ।

नेपाल सरकारको चालु आर्थिक वर्षको बजेट वक्तव्य अनुसार आम नागरिकले गर्ने सामूहिक कोरोना बीमामा ५० प्रतिशत मात्र अनुदान उपलब्ध हुनेछ।

सामूहिक कोरोना बीमाका लागि आवश्यक कागजात

सामूहिक कोरोना बीमाका लागि एकाघर परिवारका सम्पूर्ण सदस्यहरुको सामूहिक बीमा गरिएको स्वघोषण एवं सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात आवश्यक पर्नेछ । एकाघर परिवारका सदस्यहरुको नाम तथा उमेर खुल्ने सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात चाहिने छ ।

यस्तै कोरोना बीमा गरेको परिवार विगत ३० दिनसम्म नेपालमा नै बसोबास गरेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात पेश गर्नुपर्नेछ ।

दाबीसम्बन्धी व्यवस्था

कोरोना बीमालेख खरीद गरेको १५ दिन पश्चात् र नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भएको पाइएमा बीमालेख बमोजिमको रकम भुक्तानी प्राप्त गर्न सकिनेछ ।

सो कार्यका लागि बीमा कम्पनीले दाबीको निवेदन प्राप्त गरेको ७ दिनभित्र बीमितलाई दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था समितिले गरेको छ । यदि दाबी भुक्तानी नहुँदै बीमितको मृत्यु भएमा बीमितले इच्छाएको व्यक्ति वा कानूनी हकवालालाई भुक्तानी गर्नुपर्नेछ ।

बीमालेख कहाँ खरीद गर्ने ?

कोरोना बीमालेख बीमा समितिबाट इजाजतपत्र प्राप्त २० वटै निर्जीवन बीमा कम्पनीहरुको बीमा पुलमार्फत संचालन गरिएकोले आफुलाई पायक पर्ने जुनसुकै बीमा कम्पनीमार्फत खरिद गर्न सकिनेछ ।

साथै समितिले बीमकले सामूहिक बीमा गर्दा उल्लेखित प्रकृया र मापदण्ड विपरीत बीमा गरेको पाइएमा त्यस्तो बीमाशुल्क अनुदान स्वरुप उपलब्ध गराइने छैन । साथै, त्यस्तो बीमितको कोरोना संक्रमण भएको पाइएमा बीमालेख विक्री गर्ने बीमा कम्पनीको वासलातबाट दाबी भुक्तानी दिन सम्बन्धित बीमकलाई समितिले निर्देशन दिन सक्ने बताएको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।