हकप्रद निष्काशनमा राष्ट्र बैंकको कडाइ, तिनाउ मिसनको पनि अस्वीकृत

0
Shares

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई हकप्रद शेयर निष्काशनमा कडाइ गरेको छ । बैंक वित्तीय संस्थाहरु घटाउन मर्जरलाई प्राथमिकतामा राखको राष्ट्र बैंकले हकप्रद शेयर निष्कासनमा कडाई गरेको हो ।

नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई औपचारिक रुपमा हकप्रद निष्कासनमा रोक लगाइएको घोषणा नगरेको भए पनि हकप्रद जारी गर्ने अनुमति लिन गएका बैंक वित्तीय संस्थालाई रोक्ने गरेको छ ।

राष्ट्र बैंकले लघुवित्तीय संस्थालाई भने औपचारिक रुपमा नै हकप्रद जारी गर्न नदिने नीति लिएको छ ।

मौद्रिक नीतिमार्फत हकप्रद निष्काशनमा कडाई गरेको राष्ट्र बैंकले गत आर्थिक वर्षमा नै हकप्रद सेयर निष्कासनको अनुमति माग्दै निवेदन दिएका प्रस्ताव समेत अस्वीकृत गरेको छ ।

पछिल्लो समयमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको हकप्रद निष्काशन गर्ने प्रस्ताव अस्वीकृत गरेको राष्ट्र बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकको पनि अस्वीकृत गरेको छ ।

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको एघारौं वार्षिक साधारणसभाले चुक्ता पूँजीको चार बराबर एक अर्थात २५ प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गरेर राष्ट्र बैंकमा निवदेन दिएको थियो ।

यता तिनाउ मिसन डेभलपमेन्ट बैंकले पनि अघिल्लो आर्थिक वर्षको बोनस वितरण पश्चात कायम पूँजीमा ३ बराबर १ को अनुपातमा हकप्रद जारी गर्ने अनुमति मागेको थियो । बैंकको यो प्रस्तावलाई पनि केन्द्रीय बैंकले अस्वीकृत गरेको छ।

 

तिनाउ मिसनलाई १२ प्रतिशत बोनस शेयर वितरण गर्न भने अनुमति दिएको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने १३ करोड ७३ लाख १७५ रुपैयाँ ९ पैसा बोनस शेयर वितरण गर्ने निर्णय गरेको थियो।

हाल बैंकको चुक्ता पूँजी १ अर्ब ६७ करोड ५८ लाख २७ हजार २५ रुपैयाँ ७६ पैसा रहेको छ। १२ प्रतिशत बोनस वितरणपश्चात बैंकको चुक्ता पूँजी १ अर्ब ८१ करोड ३१ लाख २७ हजार २०० रुपैयाँ ८५ पैसा पुग्नेछ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।