नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा स्थानीयवासीलाई प्राथमिकता दिन माग

0
Shares

चन्द्रागिरि नगरपालिकाले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजना निर्माणमा चन्द्रागिरिवासीलाई प्राथमिकता दिनुपर्ने बताएको छ । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो चन्द्रागिरिमा निर्माण हुन लागेको सुरुङमार्गमा आवश्यक पर्ने जनशक्ति व्यवस्थापनमा चन्द्रागिरिलाई प्राथमिकता दिनुपर्ने माग गरेको छ। 

सुरुङमार्ग निर्माण आयोजना र चन्द्रागिरि नगरपालिकाबीच आज भएको छलफलमा सुरुङमार्ग निर्माणका क्रममा आयोजना र नगरपालिकाबीच हातेमालो गरेर अगाडि बढ्ने सहमति भएको छ ।

सुरुङमार्ग निर्माणका क्रममा आवश्यक पर्ने सामग्री, जनशक्तिका लागि चन्द्रागिरिका बासिन्दालाई प्राथमिकता दिएर अगाडि बढ्ने विषयमा छलफल भएको नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिए ।

जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियत ऋण सहयोगमा निर्माण हुन लागेको सो सुरुङमार्ग निर्माणको काम सुरु भएको छ । मुआब्जा वितरणको काम सकेर गत वैशाखदेखि सुरुङमार्ग निर्माणको काम सुरु भएको हो ।

यस आयोजनाका लागि जाइकाको १६ अर्ब ऋण सहयोग र नेपाल सरकारको ६ अर्ब लगानी रहेको छ । जलविद्युत् र खानेपानी आयोजनाका लागि सुरुङ मार्ग निर्माण भएपनि यातायात नै सञ्चालन हुने गरी पहिलोपटक निर्माण हुन लागेको यो आयोजना चार वर्षमा सम्पन्न हुने लक्ष्य राखिएको छ । चन्द्रागिरि नगरपालिका–१ टोटेपाखाबाट सोही नगरपालिकाको सिस्नेखोलासम्म पुग्ने सो सुरुङमार्गको लम्बाई ५.५६ किलोमिटर रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ साउन २०७७, शुक्रबार  १८ : ५५ बजे