भदौ १६ गतेबाट हवाई सेवा नखुले आन्दोलनमा जाने वायुसेवा संचालकको चेतावनी

0
Shares

वायुसेवा संचालक संघले भदौ १६ गतेबाट हवाई सेवा संचालनमा नआए आन्दोलनमा जाने चेतावनी दिएको छ ।

भदौ १ गतेदेखि नियमित उडान सुचारु गर्ने तयारी गरिरहेका वायुसेवा संचालकहरुले सरकारले पूर्वघोषित मिति सार्दै भदौ १६ पुर्याएपछि उक्त मितिबाट पनि सेवा संचालनमा नआए आन्दोलनमा जाने घोषणा गरेका हुन् । 

गत सोमबारको मन्त्रिपरिषदको बैठकले भदौ १५ गतेसम्म हवाई सेवा संचालन नगर्ने निर्णय गरेको थियो ।

विश्वका सबै राष्ट्रले आन्तरिक वायुसेवा सुचारु गरेको महिनौं भई सकेको उल्लेख गर्दै हवाईसेवा अत्यावश्यक सेवा भएकोले नागरिकहरुलाई यात्रा सहज गराउनु प्रमुख दायित्व भएको संघको भनाई छ ।

हालको कोभिड १९ महामारीको दौरानमा उडानलाई व्यवस्थित तुल्याउन डब्लुएचओ तथा आईकाओले निर्धारण गरेको मापदण्डलाई मध्यनजर गर्दै नेपाल सरकारवाट निर्देशन भए बमोजिम वायुसेवा कम्पनीहरुले उडान संचालनका लागि सम्पूर्ण तयारी पूरा गरी तयारी अवस्थामा रहेको समेत संघले जनाएको छ ।

आन्तरिक वायुसेवा प्रयोग गर्दैमा संक्रमण फैलिदैन र यदि सरकारवाट संक्रमण परीक्षण गर्न चाहेको खण्डमा एउटै ठाउँमा सम्भव हुने र टिकेटिङ्ग सिष्टमबाट यात्रुहरुको कन्टाक ट्रेसिङ्ग पनि क्षणभर मै गराउन सकिने संघको दाबी छ ।

हवाईसेवा बन्द गर्ने नेपाल सरकारवाट निर्णय भएको हुँदा यस प्रकारको निर्णयवाट हाल देशमा गईरहेको बाढी पहिरो, असक्त विरामी, सुत्केरी लगायत लाई उद्धारका लागि नियमित उडान नहुँदा ठूलो असर परिरहेको पनि संघको धारणा छ ।

यसरी हवाई सेवा लामो समय सम्म बन्द भएको कारणले यस उद्योगमा प्रत्यक्ष परोक्ष आश्रित दशौं हजार श्रमिकको आय स्रोत तथा तिनमा आश्रित परिवारको रोजीरोटी नै बन्द हुनुका साथै हवाई उद्योग नै धरासायी बन्दै गईरहेको संघले बताएको छ ।

आन्तरिक हवाई सेवा उद्योगलाई तत्कालै संचालनमा नल्याने हो भने सेवा नै बन्द हुन जाने भएकोले यही आउँदो भदौ १६ गतेबाट हवाई सेवा पुनः संचालन नभएमा वाध्यतावश हामी आन्दोलित हुने अवस्था सृजना हुनेछ। संघद्वारा  जारी विज्ञप्तिमा उल्लेख छ । 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।