रसुवागढी हाइड्रोपावर कम्पनीको घाटा बढेको छ । खर्चका शिर्षकहरुमा आएको बढोत्तरी, व्याज आम्दानीमा आएको गिरावट तथा बन्दाबन्दीले काम प्रभावित भएपछि हाइड्रोको नोक्सानी बढ्दै गएको हो।
कम्पनीले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष ०७६/०७७ वित्तीय विवरण अनुसार अर्थात असार मसान्तसम्म कम्पनी ६ करोड ९२ लाख ३४ हजार रुपैयाँ नोक्सानीमा पुगेको छ। अघिल्लो आवको यसै अवधिमा कम्पनी १ करोड ४ लाख रुपैयाँ मुनाफामा थियो। कम्पनीको सञ्चालन नाफा ३ करोड ८३ लाख रुपैयाँ ऋणात्मक छ।
आयोजनाको निर्माण अवधि लम्बिदै जाँदा कम्पनीका प्रशासनिक लगायतका अन्य खर्चहरु बढेपछि नोक्सानी चुलिदै गएको हो । बाढी, पहिरो जस्ता प्राकृतिक विपत्तिका साथै कोभिड १९ महामारी जस्ता काबु बाहिरका परिस्थितिहरुले गर्दा आयोजना सम्पन्न हुन नसकेको वित्तीय विवरणमा उल्लेख छ।
गत असार मसान्तसम्म आयोजनाले निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि विविध कारणले तोकिएको अवधिमा आयोजना सम्पन्न हुन नसकेको कम्पनीले प्रष्ट पारेको छ । संशोधित तालिका बमोजिम आगामी असार मसान्तसम्म विद्युत उत्पादन गर्ने लक्ष्य कम्पनीको छ । कम्पनीको निर्माण अवधि एक वर्ष लम्बिएको छ ।
६ अर्ब १५ करोड ७८ लाख ९० हजार रुपैयाँ चुक्ता पूँजी रहेको हाइड्रोको जगेडा कोष १९ करोड ७९ लाख ७८ हजार रुपैयाँले ऋणात्मक छ। कम्पनीले नोक्सानी व्यहोरेसँगै प्रतिशेयर आम्दानी पनि १.१२ रुपैयाँ ऋणात्मक छ भने कम्पनीको प्रतिशेयर नेटवर्थ ९६.७८ रुपैयाँ छ।
यससँगै जनताको जलविद्युतमा सम्मिलित आयोजनामा लगानी गरेका लगानीकर्ताले छिटो लाभांश पाउने आशामा तुषारापात हुने देखिएको छ । आयोजनाको भौतिक प्रगति ७८ प्रतिशतमात्र रहेकाले कम्पनीबाट लाभांश पाउने समय पर धकेलिने भएको छ । आयोजनाको २२ प्रतिशत निमार्णको काम अझै बाँकी रहेको छ ।
रसुवाको गोसाईकुण्ड गाउँपालिका १ र २ मा निर्माणाधिन आयोजना १११ मेगावाटको हो । विद्युत खरिद बिक्री सम्झौता (पीपीए) मा उल्लेख भएअनुसार आयोजनाको लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ हुने अनुमान गरिएकोमा विदेशी मुद्रा सटहीदर, प्राकृतिक विपत्ति, र बन्द हड्तालले आयोजनाको लागत बढ्ने वित्तीय विवरणमा उल्लेख छ। साथै पछिल्लो समय कोरोनाको कारण आयोजनाको काम बन्द हुँदा पनि थप आर्थिक भार व्योहोर्नुपर्ने अवस्था देखिएको छ।
नेपाल विद्युत प्राधिकरणले आयोजनाको विद्युत हिउँदमा ८ रुपैयाँ ४० पैसा प्रतियुनिट र वर्षयाममा ४ रुपैयाँ ८० पैसा प्रतियुनिटको दरमा विद्युत खरिद गर्ने सम्झौता भैसकेको छ । यसबाट कम्पनीले वार्षिक ३ अर्ब २५ करोड रुपैयाँभन्दा धेरै आम्दानी हुने उल्लेख छ ।आयोजना निर्माण भएर पूर्ण रुपमा विद्युत उत्पादन थालेको अवस्थामा हाइड्रोले वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत उत्पादन गर्नेछ।
आयोजनामा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत साधारण शेयर स्वामित्व रहेको छ। जसमध्ये नेविप्राको १८ प्रतिशत, चिलिमेको ३२।७९ प्रतिशत, रसुवाको स्थानीय तहको ०।२१ प्रतिशत गरि ३ अर्ब ४८ करोड ९४ लाख ७१ हजारको संस्थापक शेयर र सर्वसाधारणका लागि २ अर्ब ६६ करोड ८४ लाख १९ हजार गरि कूल ६ अर्ब १५ करोड ७८ लाख ९० हजारको शेयर स्वामित्व छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया