नागरिक लगानी कोषको ८२ प्रतिशत हकप्रद आरबीबी मर्चेण्टले बिक्री गर्ने

0
Shares

नागरिक लगानी कोषले हाल कायम चुक्ता पूँजीको ८२ प्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको छ । हकप्रद शेयर बिक्रीका लागि कम्पनीले आरबीबी मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धमा नियुक्त गरेको छ ।

हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र आरबीबी मर्चेण्ट बैकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

नागरिक लगानी कोषले १०० सय कित्ता बराबर ८२ कित्ता अर्थात (१ः०.८२८४) का दरले साबिकका शेयरधनीलाई हकप्रद शेयर जारी गर्ने भएको छ ।

कम्पनीले प्रतिशेयर १ सय रुपैयाँका दरले १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर निश्काशन गर्न लागेको हो ।

हाल कोषको चुक्ता पूँजी १ अर्ब ६४ करोड रुपैयाँ छ । हकप्रद बिक्री गरेपछि कोषको चुक्ता पूँजी ३ अर्ब पुग्नेछ । कोषको नयाँ संशोधति ऐनअनुसार चुक्ता पूँजी बढाउने व्यवस्था गरिएको थियो । गत आर्थिक अन्त्यसम्ममा कोषको जगेडा कोषमा ७ अर्ब ६८ करोड रुपैयाँ सञ्चित छ।

कोषले अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा १७।३६ प्रतिशतले नाफा बढाएको हो । कोषले गत आर्थिक वर्षमा ५४ करोड २६ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कोषको नाफा ४६ करोड २३ लाख रुपैयाँ थियो । कोषको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष कोषको नाफा ८ करोड रुपैयाँ बढेको हो ।

कोषले संगठित संस्थाको शेयरमा १० अर्ब ७८ करोड लगानी गरेको छ । साथै कोषको ५१ प्रतिशत शेयर लगानीमा रहेको नागरिक स्टक डिलर कम्पनी पनि अर्को साताबाट शेयर बजारमा प्रवेश गर्दैछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।