बीमा संस्थानको नाफा २० लाख बढ्यो, बीमा कोषमा २६ अर्ब ५४ करोड

0
Shares

सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको चुक्ता पूँजीभन्दा जगेडा कोषको आकार मजबुत बनेको छ। गत आवमा खुद नाफा बढाएको यस कम्पनीले आफ्नो अधिकांश सूचकहरुमा छलाङ्ग मारेको छ।

चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ भएको संस्थानको जगेडा कोषमा २८ करोड ५८ लाख रुपैयाँ सञ्चित छ ।

संस्थानको जीवन बीमा कोषको आकार गत आर्थिक वर्ष ०७६/०७७ को अन्त्यसम्ममा २६ अर्ब ५४ करोड ३९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको जीवन बीमा कोष ५ अर्ब ९० करोड रुपैयाँले बढेको हो ।

यस अवधिमा संस्थानले बीमाङ्कीय मूल्याङ्कन अघि ५ करोड ९० लाख ६५ हजार रुपैयाँँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा २० लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा संस्थानले ५ करोड ७० लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

संस्थानले गत आर्थिक वर्षमा ७ अर्ब ६ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यसै अवधीको तुलनामा करिब ७२ लाख रुपैयाँले बढी हो । संस्थानले अघिल्लो आवमा ६ अर्ब ३५ करोड ३८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै लगानी कर्जा तथा अन्य आयबाट एक अर्ब ९४ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

निर्जीवन सेवा प्रदान गर्ने राष्ट्रिय बीमा कम्पनी नेप्सेमा सूचीकृत भए पनि जीवन सेवा प्रदान गर्ने राष्ट्रिय बीमा संस्थान भने नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत छैन। राष्ट्रिय बीमा कम्पनी संस्थानबाट छुट्टिएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।