थप ६८१ जनामा संक्रमण पुष्टि, उपत्यकामा मात्रै १५९ जना

0
Shares

पछिल्लो २४ घन्टामा नेपालमा थप ६८१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा जम्मा १३ हजार ४६१ पीसीआर परीक्षण गर्दा उक्त संख्यामा पोजेटिभ नतिजा आएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लाहरु काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना सहित सो संख्यामा बुधबार संक्रमित फेला परेका हुन्।

मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार सहित हालसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या २८ हजार ९३८ पुगेको जानकारी दिए। हालसम्म कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १७ हजार ७०० पुगेको छ । जसमध्ये पछिल्लो २४ घण्टामा १२० जना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ५ लाख ५४ हजार ३८८ वटा पीसीआर परीक्षण सम्पन्न भएका छन् । हालसम्म सक्रिय संक्रमित ११ हजार ११८ जना आइसोलेसनमा रहेका छन् भने क्वारेन्टाइनमा रहनेको संख्या १३ हजार ५७१ जना रहेको छ ।

कोरोना संक्रमणबाट बुधबार भक्तपुर, चितवन, सुनसरी र मोरङका एक/एक महिला तथा काठमाडौं र बर्दियाका एक/एक पुरूष गरि थप ६ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट अहिलेसम्म १२० जनाको मृत्यु भइसकेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ भदौ २०७७, बुधबार  १६ : ३९ बजे