सिद्धार्थ इक्वीटी र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२ दुबैको प्रति इकाईको खुद मूल्य घट्यो

0
Shares

सिद्धार्थ बैंक प्रबद्र्धक तथा सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रही सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी फण्ड र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २ दुबैको असार मसान्तको तुलनामा साउन मसान्तमा प्रति इकाई खुद मूल्य (एनएभि) घटेको छ ।

शुक्रबार सार्वजनिक भएको मासिक वित्तिय विवरण अनुसार सिद्धार्थ इक्वीटी फण्डको असार मसान्तको तुलनामा साउनमा ४३ पैसा तथा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २ को एनएभि ३० पैसाले घटेको हो ।

सिद्धार्थ इक्वीटी फण्ड (SEF)

एक अर्ब ५० करोड आकारमा सञ्चालमा रहेको सिद्धार्थ इक्वीटी फण्डको साउन मसान्तको वित्तीय विवरण अनुसार खुद सम्पत्ति १ अर्ब ६१ करोड ३२ लाख ३५ हजार रुपैयाँ रहेको छ । खुद सम्पत्ति घट्दा प्रतिइकाई खुद मूल्य १०.७४ रुपैयाँमा संकुचित बनेको छ ।

समीक्षा अवधिमा खुद सम्पत्ति ६ करोड १५ लाख ४७ हजार रुपैयाँले घट्दा प्रतिइकाई खुद मूल्यमा ४३ पैसाले गिरावट आएको हो ।असार मसान्तसम्ममा फण्डको खुद सम्पत्ति १ अर्ब ६७ करोड ४७ लाख ८२ हजार रुपैयाँ रहेको थियो । सो अवधिमा प्रतिइकाई खुद मूल्य ११.१७ रुपैयाँमा कायम भएको थियो ।

वित्तीय विवरण अनुसार फण्डको साउन समान्तसम्ममा १ अर्ब ४८ करोड ४८ लाख ९३ हजार रुपैयाँ बराबरको लगानी धितोपत्रमा रहेको छ । जसमध्ये ७५ संस्थाको ३१ लाख ६४ हजार २४२ कित्ता सूचीकृत शेयरमा १ अर्ब २५ करोड ५९ लाख ५२ हजार रुपैयाँ र बाँकी बैंक मुद्दती निक्षेप, ऋणपत्र, हकप्रद र बोनस शेयरमा लगानी रहेको छ ।

असार मसान्तको तुलनामा साउनमा कम्पनीको धितोपत्रमा गरिएको लगानी १२ करोड २८ लाख रुपैयाँले वृद्धि भएको छ ।

असार मसान्तसम्ममा १५ करोड ३४ लाख ४६ हजार रुपैयाँ कूल आय गरेको फण्डले साउनमा ६ करोड ७८ लाख ७७ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ ।

सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २

एक अर्ब २० करोड आकारमा सञ्चालमा रहेको सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २ को साउन मसान्तको वित्तीय विवरण अनुसार खुद सम्पत्ति १ अर्ब २९ करोड ३४ लाख ४१ हजार रुपैयाँ रहेको छ ।

यस फण्डको पनि असारको तुलनामा साउन मसान्तमा खुद सम्पत्तिमा आएको गिरावट आएसँगै प्रतिइकाई खुद मूल्य १०.७८ रुपैयाँमा संकुचित बनेको छ । समीक्षा अवधिमा खुद सम्पत्ति ३ करोड ३९ लाख २२ हजार रुपैयाँले घट्दा प्रतिइकाई खुद मूल्यमा ३० पैसाले गिरावट आएको हो।

असार मसान्तसम्ममा फण्डको खुद सम्पत्ति १ अर्ब ३२ करोड ९३ लाख ८८ हजार रुपैयाँ रहेको थियो । सो अवधिमा प्रतिइकाई खुद मूल्य ११.०८ रुपैयाँमा कायम भएको थियो ।

वित्तीय विवरण अनुसार फण्डको साउन समान्तसम्ममा १ अर्ब १४ करोड १३ लाख १९ हजार रुपैयाँ बराबरको लगानी धितोपत्रमा रहेको छ। जसमध्ये ५८ संस्थाको २२ लाख ८६ हजार १७४ कित्ता सूचीकृत शेयरमा ९६ करोड ५४ लाख ७९ हजार रुपैयाँ र बाँकी बैंक मुद्दती निक्षेप, ऋणपत्र, हकप्रद र बोनस शेयरमा लगानी रहेको छ।

असार मसान्तको तुलनामा साउनमा कम्पनीको धितोपत्रमा गरिएको लगानी १० करोड २० लाख २३ हजार रुपैयाँले वृद्धि भएको छ ।

असार मसान्तसम्ममा १२ करोड ९३ लाख ८८ हजार रुपैयाँ कूल आय गरेको कम्पनीले साउनमा २ करोड ४० लाख ५३ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।