आफ्नो स्वास्थ्य समस्या देशको समस्या बन्न नहुने भन्दै जापानी प्रधानमन्त्री आबेद्धारा राजीनामा

आफ्नो स्वास्थ्य समस्या देशको समस्या बन्न नहुने भन्दै जापानी प्रधानमन्त्री आबेद्धारा राजीनामा

जापानका प्रधानमन्त्री सिन्जो आबेले पदबाट राजीनामा दिने घोषणा गरेका छन । जापानको सरकारी प्रसारण संस्था एनएचकेले सम्प्रेषण गरेको समाचारमा उनले अस्वस्थताका कारण राजीनामा दिने मनस्थिति बनाएको बताएको थियो ।

उनले आजै अपरान्ह पत्रकार सम्मेलन गरी आफूले पदबाट राजीनामा दिने घोषणा गरेका हुन । उनले आफु अस्वस्थ्य हुदा हुदै पदमा बसिरहनु उपयुक्त नहुने ठानेर राजीनामा दिन लागेको बताएका थिए ।

आफ्नो स्वास्थ्य समस्या देशको समस्या बन्न नहुने र देश विकासको गतिमा बाधक बन्न नहुने उनको भनाई छ । पार्टीले प्रधानमन्त्रीको अर्को उम्मेदवार नछान्दासम्म मात्र आफू पदमा बस्ने उनले बताए।

नयाँ प्रधानमन्त्री छान्ने विषयमा उनको डेमोक्र्याटिक पार्टीले अर्को हप्ता आवश्यक छलफल गरी निर्णय लिने बताइएको छ ।उनको कार्यकाल आगामी सन् २०२१ को सेप्टेम्बरसम्म भएपनि उनले अहिले नै राजीनामा दिन लाग्नु भएको समाचारमा जनाइएको छ ।

सन् २०१२ देखि लगातार शक्तिमा रहेका आवे जापानमा सवैभन्दा लामो समय प्रधानमन्त्री भएका नेता हुन । उनले यसअघि सन् २००७ मा पनि स्वास्थ्य समस्याकै कारणले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । तर पछि सुधार भएपछि फेरी निर्वाचित भएका थिए ।

पछिल्लो दुई हप्तामा उनी दुई पटक अस्पताल गएका थिए । उनी अर्को महिनादेखि ६६ बर्ष लाग्दैछन । उनलाई आन्द्रामा समस्या रहेको र पछिल्लो समयमा समस्या झन झन बढ्दै गइरहेको चिकित्सकहरुले बताएका छन् ।

कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न राम्रोसँग नसकेको भन्दै जापानमा सरकारको लोकप्रियता अहिले केही खस्किएको छ । लोकप्रियता खस्किएको र काम गर्न नसकेको कारणले भने राजीनामा दिन लागेको भनिएको छैन ।

जापानमा प्रधानमन्त्रीले राजीनामा दिएपछि कार्यबहाक प्रधानमन्त्री बनाइने कानुनी व्यवस्था रहेको छ । मन्त्रीपरिषद्मा उनीपछिको दोस्रो बरियताक्रममा उपप्रधान तथा अर्थमन्त्री रहेका छन ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ भदौ २०७७, शुक्रबार १५ : ३९ बजे