‘अर्थतन्त्र सुधारको जग बसाएको छु, निरन्तरता दिनुहोला’: डा. खतिवडा

0
Shares

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आफुले अर्थतन्त्र सुधार र वित्तीय अनुशासनको लागि धेरै सुधारको जग बसाएको बताउँदै यसलाई निरन्तरता दिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउनुअघि मन्त्रालयमा खतिवडाले राजस्व प्रशासन, खर्च प्रणाली र लेखा प्रणालीमा सुधारका लागि काम अघि बढाइएको उल्लेख गरे।

‘म अफ्ठ्यारो बेलामा अर्थमन्त्री बनेको तपाईँहरू सबैलाई थाहा नै छ, धेरै सुधार गरेका छौँ, केही विषय सुधार गर्न खोज्दा सबैतिरबाट साथ पाइएन तर हामीले सुरु गरेका सुधारलाई म नभए पनि निरन्तरता दिनुहोला’, खतिवडाले भने ।

साथै उनले आफू राष्ट्र निर्माणमा लागि परिरहने बताएका छन्। ‘राष्ट्र निर्माणमा वहस पैरवी गरिरहनेछु । काम गरिरहँदा सबै व्यक्ति अनुकुल हुन नपुग्ने रहेछन्। मैले राष्ट्रको निम्ति काम गर्दा तपाईहरुको व्यक्तिगत जीवनमा असर पुग्छ भने यो राष्ट्रको लागि भएको काम भन्ने बुझ्नुपर्छ,’ उनले पत्रकार सम्मेलनमा भने ।

मन्त्री खतिवडाले वर्षौंदेखि विवादमा रहेको मूल्य अभिवृद्धि कर फिर्ताको व्यवस्था हटाइएको, भन्सारमा प्रणाली सुधार गर्दै लगिएको, भेहिकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम ल्याइएको भन्दै यसले प्रणाली र कार्यगत दुवै सुधारका लागि बलियो आधार बनाएको दाबी गरे ।

अर्थमन्त्री खतिवडाले अर्थतन्त्र कमजोर भएको र वित्तीय अनुशासन ओरालो लागेको बेलामा आफू आएको र सबै कर्मचारीको साथले सुधारको जग बसाल्न सकिएको भन्दै कर्मचारीलाई धन्यवाद दिए ।

२०७४ साल फागुनमा पहिलोपटक अर्थमन्त्री नियुक्त भएका खतिवडाले २०७६ फागुन २१ गते दोस्रो कार्यकालका लागि सपथ ग्रहण गरेका थिए। तर राष्ट्रिय सभा सदस्यमा उनको स्थानमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय भएसँगै खतिवडा मन्त्री नहुने भएका हुन्।

राष्ट्रिय सभा सदस्यमा नेकपाले खतिवडाको नाम नदोर्होयाउने र वामदेव गौतमलाई लैजाने निर्णय गरेपछि खतिवडाको पदावधि शनिबार सकिँदैछ ।

भदौ २० गते राती १२ बजेसम्म मात्र रहेको मन्त्रीको पदावधि सकिनुअगावै राष्ट्रियसभा सदस्यमा मनोनयन हुने सम्भावना सकिएपछि खतिवडाले शुक्रबार नै मन्त्रीपरिषदको बैठकमै राजीनामा दिने जानकारी गराएका थिए । दिउँसो मन्त्रीपरिषदको बैठक सकिएपछि त्यहाँबाट सोझै उनी अर्थमन्त्रालय पुगेका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।