कोरोनाका कारण दुग्ध क्षेत्रमा २० अर्बको नोक्सान

0
Shares

कोभिड–१९ को महामारीका कारण डेरी तथा उद्योग क्षेत्रका ६० प्रतिशत बजार गुमेको सरोकारबालाहरु बताएका छन् । कोरोना शुरु भएदेखि हालसम्म दुग्धको नीजि क्षेत्रमा मात्र २० अर्ब रुपियाँ घाटा लागेको बताइएको छ ।

एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) ले शनिवार आयोजना गरेको ‘कोभिड–१९ कारण दुग्ध क्षेत्रमा परेको समस्या र समाधानका उपायहरु’ विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम सो क्षेत्रका सरोकारबालाहरुले धारणा राख्ने क्रममा त्यसको जानकारी दिनु भएको हो । कोरोना महामारीका कारण डेरी क्षेत्रमा मात्र होइन, किसानलाई पनि निकै समस्या भएको धारणा राख्दै वाग्मती प्रदेशका भूमी, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले दुग्ध क्षेत्रको उद्योगीदेखि लिएर किसानसम्मको समस्या समाधान हुनुपर्ने कुरामा जोड दिए । 

किसानले उत्पादन गरेको दुधले बजार नपाएको बताउँदै मन्त्री लामाले त्यसको बारेमा सरकार तथा नीजि क्षेत्र मिलेर छलफल गरी समाधान गर्नुपर्ने कुरामा जोड दिए । कोरोनाका कारण अहिले सबै क्षेत्रमा समस्या छन्, तर यसमा सबभन्दा बढी समस्यामा किसान रहेको भन्दै मन्त्री लामाले यसको समाधान दुग्ध क्षेत्रका उद्योगीहरुले पनि समाधान गर्नुपर्ने कुरामा जोड दिए । उनले किसानहरु मर्कामा परेका छन्, त्यसका लागि प्रदेश सरकारले सहयोग गर्ने तयारी गरिरहेको बताए।

डेरी तथा दुध क्षेत्रको समस्याको बारेमा आफूले संघीय कृषि तथा पशुपक्षी विकास मन्त्रीसँग पनि छलफल गर्ने र समाधानका लागि प्रयास गर्ने प्रतिवद्धता जनाउँदै उनले कोरोनाका कारण देखिएको समस्या चाँडै समाधान गर्ने प्रतिवद्धता जनाए ।

केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले कोरोना महामारीका कारण किसानको दुधमा ३० प्रतिशत ह्रास आएको बताए । देशभरि सहकारीमा ६ लाख लिटर दुध संकलन हुन्छ, त्यसमा अहिले ३० प्रतिशत कमी आएको बताउँदै उनले अहिले सबै समस्या किसानसँग ठोकिएको बताए । किसानले डेरी उद्योगीबाट चार महिनादेखि भुक्तानी नपाएको गुनासो गर्दै उनले एकातिर किसानको दुध विक्रि भइरहेको छैन भने अर्कोतिर विक्रि एका दुधको भुक्तानी नपाइरहेको अवस्थामा किसान साह्रै पीडामा परेका छन् तर सरकारले त्यसमा कुनै ध्यान नदिएको गुनासो गरे ।

डेरी उद्योगहरु पूर्ण रुपमा सञ्चालनमा छन् तर उद्योगीहरुले किसानको दुध खरिद नगरेको उहाँले गनुासो गरे । अहिले किसानको दुध लिएर पाउडर बनाएर राख्दा पनि हुन्छ तर उद्योगीहरुले त्यस्तो नगरेर किसानको दुध उठाउन छाडेको बताउँदै उनले कोरोनापछि सहज अवस्थामा आउँदा दुधको हाहाकारको अवस्था सृजना हुने बताए । अहिले भएका दुधको व्यवस्थापन नगर्ने अनि पछि किसानलाई दोष देखाउने काम हुने उनको धारणा थियो ।

सरकारले किसानले प्रतिलिटरमा सुविधा दिने वाचा गरेको थियो तर हालसम्म त्यो नदिएको गुनासो उनले गरे । सरकारले आत्मनिर्भरको कुरा गर्छन् तर त्यो अनुसारको सुविधान नदिएको गुनासो उनको थियो । उनले डेरी क्षेत्रमा संस्थागत विकास हुनु आवश्यक रहेको कुरामा पनि जोड दिए ।

नेपाल डेरी एशोसिएशनका महासचिव प्रल्हाद दाहालले कोरोनाका कारण डेरी उद्योगका ६० प्रतिशत बजार समाप्त भएको बताउँदै हालसम्म यो क्षेत्रले २० अर्बको नोक्सान बेहोरिसकेको बताए । कोरोनाका कारण अर्बौको नोक्सान भएपनि डेरी उद्योग जसोतसो सेवा दिइरहेको बताउँदै उनले किसानको पनि निकै नोक्सान भएको छ तर किसान धेरै भएका हुनाले त्यो देखिएको छैन तर डेरी उद्योग थोरै भएको कारणले त्यो देखिएको बताए ।

दैनिक ६२ लाख दुध उत्पादन हुन्छ तर ३१ लाख दुध मात्र बजारमा जान्छ बाँकी किसानले आफै उपभोग गर्ने गरेको उल्लेख गर्दै महासचिव दाहालले डेरी क्षेत्र नै यस्तो क्षेत्र हो जसले कृषिका हरेक क्षेत्रलाई समेटेको छ तर सरकारले यही क्षेत्रमाथि ध्यान नदिएको गुनासो गर्नुभयो । कोरोना महामारीमा अत्यावश्यक वस्तुको रुपमा डेरी क्षेत्रलाई राखिएको छ तर ढुवानी तथा उद्योग सञ्चालनको क्रममा प्रहरीले अनावश्यक दुख दिने गरेको गुनासो गर्नुभयो । दुध ढुवानी गर्दा गाडी तथा मोटर साइकललाई जथाभावी रोकेर दुई तीन घण्टा होल्ड गरेर दुखः दिने गरेको बताउँदै उहाँले डेरी क्षेत्रलाई सहज रुपमा काम गर्न दिनका लागि सरकारसँग उनले आग्रह गरे ।

दुध विकास संस्थानका सञ्चालक समितिका सदस्य शितलकाजी श्रेष्ठले दुध क्षेत्रमा उत्पादनको समस्या छैन तर विक्रि वितरणमा समस्या भएको कारणले डीडीसी घाटामा गइरहेको बताए । दैनिक दुध संकलनमा ३० देखि ४० रुपियाँ घाटा भइरहेको बताउँदै उनले उत्पादन भएपनि विक्रि नभएको कारण भण्डारण तथा व्यवस्थापनमा समस्या भइरहेको दावी गरे । घीउ, बटर, चिज उत्पादन गरेर भण्डार भइरहेको छ तर त्यसलाई कसरी बेच्ने भनि समस्या भइरहेको उनले बताए । उनले यो क्षेत्रमा सरकारले पनि सहजीकरण गर्नुपर्ने धारणा राखे ।

पछिल्लो समयमा गाईवस्तुमा नयाँ नयाँ खालको रोगहरु देखिन थालेको छ त्यसले गर्दा पनि दुध उत्पादनमा समस्या भएको उनले बताए । रोगका कारण दुध क्षेत्रमा समस्या परेको बताउँदै उनले यसको उपचारमा सरकारले ध्यान दिएन भने दुध क्षेत्रमा ठूलो ह्रास आउने बताए । दुध क्षेत्रमा राहत प्याकेजको घोषणा गर्न आवश्यक रहेको बताए ।

अनाजका अध्यक्ष किरण आचार्यको अध्यक्षतामा भएको कार्यक्रमा डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालका अनुसार कोरोनाका कारण डेरी क्षेत्र ठूलो समस्यामा परेको छ तर हालसम्म त्यसका लागि सरकारले कुनै ध्यान नदिएको गुनासो गरे । उनले भने, हामी किसानबाट दुध उठाई रहेका छौं तर हामीले तयार पारेको दुग्धजन्य पदार्थ विक्रि भइरहेको छैन, हामी भण्डारण गरिरहेका छौं तर अब भण्डार कहाँ गर्ने ठाउँ पनि छैन ।’ कोरोनाका कारण ६० प्रतिशतभन्दा मार्केट समात्प भइसकेको छ, दुग्धजन्य पदार्थ कहाँ खपत गर्ने, ठाउँ छैन तर सरकार कुनै ध्यान नदिएको गुनासो उनले गरे।

यस्तो अवस्थामा पनि आफूहरुले किसानको दुध लिएर सेवा गरिरहेका छौं तर सरकारबाट कुनै राहत नपाएको कारण आफूहरुलाई दुख लागेको बताउँदै उनले दुग्ध क्षेत्रलाय कसरी उकास्ने, आत्मनिर्भर कसरी बनाउने त्यसको लागि सरकारसँग न कुनै योजना छ न कुनै तथ्यांक रहेको बताए । आफूहरुले गतवर्ष दुधको धुलो बनाएर राखेको तर त्यो नै अहिलेसम्म खपत भएको छैन, यो केरोनाको अवधिमा पनि बनाएर भण्डारण गर्ने काम गरेको तर खपत नभएको कारण समस्या भइरहेको उनले बताए ।