बैंक तथा वित्तीय संस्थाले सामूहिक लगानी कोष सञ्चालन गर्नसक्ने

0
Shares

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले पनि सामूहिक लगानी कोष (म्युचुअल फण्ड) सञ्चालन गर्न पाउने बाटो खुला गरेको छ ।

केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्सलाई समेटेर मंगलबार जारी गरेको एकीकृत निर्देशन मार्फत तोकिएको शर्तको पालना गर्नेगरी सहायक कम्पनी मार्फत सामूहिक लगानी कोष सञ्चालन गर्नसक्ने व्यवस्था गरेको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ४९ को उपदफा (१) को खण्ड (य) अनुसार राष्ट्र बैंक पाँच शर्त तोकेर सहायक कम्पनी मार्फत सामूहिक लगानी कोष सञ्चालन गर्न पाउने उल्लेख गरेको छ ।

योजना व्यवस्थापनसँग सम्बन्धित कार्यका लागि सहायक कम्पनी खडा गर्नुपर्ने र त्यस्तो कम्पनी खडा गर्दा हुन गएको लगानीलाई केन्द्रीय बैंकले तोके अनुसारको जोखिम भार प्रदान गर्नेुपर्ने उल्लेख गरिएको छ।

यस्तै कुनै पनि बैंक तथा वित्तीय संस्थाले वित्तीय कारोबार सञ्चालन भएको पाँच वर्ष पूरा नभएको खण्डमा तथा नेटवर्थ ऋणात्मक रहेकाले सामूहिक लगानी कोष सञ्चालन गर्न पाउनेछैनन् ।

यसैगरी सामुहिक लगानी कोष सञ्चालन गर्ने संस्था पछिल्लो तीन वर्षदेखि लगातार मुनाफा गरेको हुनुका साथै सञ्चित नोक्सानीमा रहेको हुन नहुने शर्त तोकिएको छ भने त्यस्तो संस्थाको सञ्चालक वा कार्यकारी प्रमुख नेपाल राष्ट्र बैंकको कारबाहीमा नपरेको र त्यस्तो कारवाहीमा परेको भए पनि सो फुकुवा भएको ३ वर्ष पुगेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

यसअघि मर्चेन्ट बैंकरहरुलाई मात्र सामूहिक लगानी कोष सञ्चालन गर्न दिइँदै आइरहेकोमा राष्ट्र बैंकको एकीकृत निर्देशन पश्चात बैंक तथा वित्तीय संस्थाहरुले योजना व्यवस्थापनसँग सम्बन्धित कार्यका लागि सहायक कम्पनी खडा गरेर म्युचुअल फण्ड सञ्चालन गर्नसक्ने भएका हुन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।