भदौको ३ सातामा १९ अर्ब कर्जा प्रवाह, १२ अर्ब निक्षेप थपियो

0
Shares

कोरोना भाइरसका कारण अस्तव्यस्त भएको अर्थतन्त्रमा पछिल्ला दिनहरुमा केही कर्जाको माग देखिन थालेको छ । निषेधाज्ञाकै अवस्थामा पनि बैंकहरुमा कर्जाको माग आउन थालेको हो ।

चालु आर्थिक वर्षको भदौ महिनाको तेस्रो सातासम्म वाणिज्य बैंकहरुमा १२ अर्ब निक्षेप थपिएको छ भने यसअवधिमा बैंकहरुले १९ अर्ब कर्जा प्रवाह गरेका छन् ।
कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले काठमाडौं उपत्यकामा गरेको निषेधाज्ञाका बीच बैंकहरुको कर्जा प्रवाहमा सुधार आएको हो । भदौको पहिलो साता ८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले दोस्रो र तेस्रो सातामा ६ अर्बका दरले कर्जा प्रवाह बढाएका छन् ।

उद्योग व्यवसाय ठप्प भएपछि आर्थिक गतिविधिको मुख्य संयन्त्र उत्पादन, वितरण तथा मागको चक्र बिग्रिएको अवस्था छ । सञ्चालन गर्न चाहने उद्योग व्यवसायले पनि चालु पूँजी अभावको समस्या देखाइरहेको अवस्था छ ।

साउन मसान्तसम्म बैंकहरुले २८ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त अवधिसम्म बैंकहरुमा ३४ खर्ब ७९ अर्ब निक्षेप रहेको थियो । भदौ १९ गतेसम्म बैंकहरुको कर्जा प्रवाह १९ अर्ब रुपैयाँले बढेर २८ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ भने निक्षेप ३४ खर्ब ९१ अर्ब रहेको छ । भदौको १९ गतेसम्म १२ अर्ब रुपैयाँले बढाएर ३४ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले उद्योगधन्दा सञ्चालन तथा नयाँ उद्यम गर्नका लागि सहज कर्जाको व्यवस्था गरेको छ । बैंक वित्तीय संस्थावाट सहुलियतमा सहज कर्जा पाउने भएपछि पछिल्ला दिनहरुमा बैंक वित्तीय संस्थामा कर्जाको माग समेत देखिन थालेको छ ।

लकडाउनको अवधिमा आर्थिक कारोबार ठप्प सरह रह्यो । बैंकमा पैसा थुप्रियो । बैंकहरुले पनि लगानी गर्ने अवस्था नहुँदा २ अर्बसम्मको अधिक तरलता भएको अवस्था थियो । वित्तीय प्रणालीमा अहिले पनि करिब पौने दुई खर्बभन्दा धेरै अधिक तरलता रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ भदौ २०७७, बिहीबार  १५ : २७ बजे