सोलु करिडोरको चौथो पटक म्याद थप, निमार्णमा ढिलाई हुँदा सोलुखोलाको २३.५ मेगावाट विद्युत् खेर

0
Shares

निर्माणाधीन सोलु करिडोर आयोजनाको म्याद चौथो पटक थपिएको छ । सन् २०१६ सेप्टेम्बरमा ३० महिनाभित्र काम पूरा गर्ने गरी पहिलो पटक सम्झौता भएको आयोजनाको चौथो पटक म्याद थपिएको हो ।

सोलुखुम्बुमा उत्पादन हुने विद्युत बाहिर लैजान १३२ केभी प्रसारणलाइन निर्माण थालिएको थियो। विभिन्न कारणले निर्धारित समयमै सम्पन्न हुन नसकेको आयोजना प्रमुख जनार्दन गौतमको भनाइ छ । सोलु दूधकुण्ड नगरपालिका-११ तिङ्लामा सवस्टेशन निर्माण भइसकेपनि करिडोरको काम अझै सक्ने छाँटकाट छैन ।

सन् २०२० जुलाई १५ मा सक्ने सर्तमा तेस्रो पटक म्याद थप गरिएको थियो। कोरोनाका कारण समस्या भएको भन्दै आगामी डिसेम्बर ३१ (पुस १६) सम्मका लागि समय थप गरिएको प्रमुख गौतमले बताए । आयोजनाको काम गर्न समस्या नभए पनि कामदार ल्याउन समस्या छ। भारतीय कामदार ल्याएर अहिले पनि काम भइरहेको छ । थप कामदार ल्याउन नसक्दा म्याद थपिएको समयमासमेत काम सम्पन्न गर्न नसकिने प्रमुख गौतमको भनाइ छ ।

सिरहाको मिर्चैयादेखि तिङ्लासम्म ३ सय २ वटा टावर बनाउनुपर्नेमा २ सय ८१ वटाको फाउण्डेसनको काम सकिएको छ । अब २१ टावर निर्माण गर्नु पर्नेछ पाँच वटाको सुस्तगतिमा काम भइरहेको छ ।

यस्तै ९० किलोमिटर दूरी रहेको करिडोरमा अहिलेसम्म ४५ किलोमिटर मात्रै तार तानिएको छ । लामो समय सामुदायिक वनको विवादले गर्दा वन क्षेत्रमा काम गर्न नसकेको आयोजनाकै कारण माथिल्लो सोलुखोला आयोजनाको २३.५ मेगावाटमा उत्पादन भएको विद्युत् खेर गइरहेको छ ।

अहिले ११ केभी प्रसारणलाइनमार्फत रुम्जाटार सव स्टेशनमा लगेर खपत गर्ने प्रयास गरिएपनि अझै तेब्बर विद्युत् खपत हुन नसकेको विद्युत आयोजनाले जनाएको छ । यस्तै सोलुखोलामा नै अर्को जलविद्युत आयोजना ८२ मेगावाटको तल्लो सोलुखोला निर्माणाधीन छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।