अनलाइन शेयर कारोबारमा देखिएको समस्याप्रति अर्थ मन्त्रालयको चासो

अनलाइन शेयर कारोबारमा देखिएको समस्याप्रति अर्थ मन्त्रालयको चासो

नेप्सेको अनलाइन कारोबार व्यवस्थापन प्रणालीमा पटक पटक समस्या आएपछि समस्या समाधानका लागि अर्थमन्त्रालयले चासो बढाएको छ । यस बिषयमा छलफल गर्न अर्थले सरोकारवाहरुलाई सोमबार मन्त्रालयमा डाकेको छ ।

अर्थमन्त्रालयले धितोपत्र बोर्ड तथा नेप्सेका पदाधिकारीसँग टिएमएसमा देखिएको समस्याका विषयमा सोमबार छलफल गर्न लागेको अर्थमन्त्रालयले जनाएको छ । गत बिहीबार र आइतबार अनलाइन कारोबारमा समस्या उत्पन्न भएको थियो।

बारम्बार कारोबार प्रणालीमा समस्या उत्पन्न भएपछि शेयर लगानीकर्ताहरुले यसको चर्को विरोध गर्दै आएका छन् । कारोबार प्रणालीमा समस्या उत्पन्न हुँदा लगानीकर्ताहरुले सहज रुपमा कारोबार गर्न पाएका छैनन् ।

आइतवार पनि विहान ११ बजेर २५ मिनेटपछि बन्द भएको कारोबार २ बजेर १५ मिनेटदेखि पुनः सुचारु भएको थियो भने साँझ ५ बजेर १५ मिनेटसम्म बजार खुलेको थियो । त्यस्तै गत बिहीबार पन झण्डै २ घण्टा शेयर कारोबार अवरुद्ध भएको थियो ।

नेप्सेको कारोबार व्यवस्थापन प्रणालीमा हरेक दिन फरक– फरक समस्या आइरहेको नेप्सेको भनाई छ । आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन अनलाईन कारोबार प्रणाली तयार गर्ने वाईको र नेप्सेको आईटी टिमले प्रयास गरिरहेको भएपनि दैनिक नयाँ नयाँ समस्या देखा पर्न थालेका छन् ।

आज हुने छलफलमा अर्थमन्त्रालयले तत्कालै समस्या समाधान गरेर कारोबार सहज बनाउन निर्देशन दिनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २९ भदौ २०७७, सोमबार ०८ : ४४ बजे