नेप्सेको कारोबार प्रणाली स्तरोन्नतीको काम आइतबारसम्म सक्न अर्थ मन्त्रालयको निर्देशन

0
Shares

अर्थ मन्त्रालयले आगामी आइतबार सम्ममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार प्रणालीको स्तरोन्नती तथा हार्डवेयर इन्स्टलेसनको काम सक्न निर्देशन दिएको छ ।

नेप्सेले कारोबार प्रणाली सबलीकरणको काम भैरहेको जानकारी दिएपछि मन्त्रालयले एक साताको समय दिएको हो । नेप्सेको कारोबार प्रणालीमा बारम्बार समस्या आएपछि अर्थमन्त्रालय, धितोपत्र बोर्ड र नेप्सेका प्रतिनिधि बीच सोमबार अर्थमन्त्रालयमा छलफल भएको हो ।

छलफलमा नेप्सेले आफ्ना तर्फबाट कारोबार प्रणालीका सन्दर्भमा भैरहेको कामको जानकारी गराएको समेत नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले बताए ।

नेप्सेको अनलाइन कारोबार प्रणाली, कारोबार व्यवस्थापन प्रणाली तथा बेवसाइटमा समस्या आएपछि मन्त्रालयले सम्बन्धित निकायका अधिकारीसँग छलफल गरेको हो ।

छलफलमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष तथा नेप्सेका प्रमुख कार्यकारी अधिकृत सहभागी थिए ।

छलफलमा मन्त्रालयका अधिकारीले अहिले नेप्सेको कारोबार प्रणालीको समस्या बारेमा जानकारी लिएका थिए भने समस्या आउनुको कारणमा समेत छलफल भएको साउदले जानकारी दिए ।

कारोबार प्रणाली तथा वेवसाइटमा विगतमा आएको समस्या समाधानका लागि नयाँ टिम नै गठन गरेको साउदले जानकारी गराएका थिए । अहिलेको अवस्थामा नेप्सेको वेवसाइटको समस्या समाधान भैसकेको र अनलाइन कारोबार प्रणाली र कारोबार व्यवस्थापन प्रणालीको सम्पर्कमा आएको समस्यामा काम भैरहेको साउदले जानकारी गराएका छन् ।

“अहिले कारोबार प्रणाली अपग्रेड गर्ने र हार्डवेयर इन्स्टलेसनको काम भैरहेको हुनाले पनि केही समस्या देखिएको हुन सक्छ,” साउदले भने, “कारोबार प्रणालीमा देखिएको समस्या समाधान गर्दै जाने भनेका छौं ।”

अहिले वेवसाइट, नट्स तथा टिएमएसमा देखिएको समस्या समाधान भएको छ । कारोबार प्रणालीमा देखिएको समस्याको सन्दर्भमा नेप्से गम्भिर भएको र समाधान गर्दै आएको र सोही अनुसार लगानीकर्तालाई सहज हुनेगरी समस्या छिटो छरितो माध्यबाट समाधान गर्न नेप्से तयार रहेको उनले बताए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ भदौ २०७७, सोमबार  १५ : १५ बजे