नयाँ परियोजनामा लगानी गर्न नसक्दा कर्मचारी सञ्चयकोषको रकम बैंकमा थुप्रियो, धितोपत्रमा २१ अर्ब लगानी

0
Shares

नयाँ परियोजनामा लगानी गर्न नसक्दा कर्मचारी सञ्चयकोषले ठूलो रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेको छ । कोषले गत आर्थिक वर्ष ०७६/७७ को अन्त्यसम्ममा विभिन्न बैंक तथा वित्तीय संस्थामा एक खर्ब ७ अर्ब रुपैयाँ बचतको रुपमा राखेको छ।

अघिल्लो आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्म कोषले ७८ अर्ब ७९ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा राखेको थियो । कोषको जम्मा रकमको २८ प्रतिशत बैंक तथा वित्तीय संस्थामा निक्षेपको रुपमा जम्मा गरेको छ ।

कोषको कूल कोष तथा जगेडा ३ खर्ब ८१ अर्ब ८१ करोड ११ लाख रुपैयाँ छ । जसमध्ये कोषले सञ्चयकर्ताहरुबाट तीन खर्ब ५० अर्ब ५९ करोड रुपैयाँ संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कोषले यस्तो रकम तीन खर्ब ९ अर्ब रुपैयाँ जम्मा गरेको थियो। एक वर्षको अवधिमा कोषले सञ्चयकर्ताबाट प्राप्त हुने कोष १३.२६ प्रतिशतले बढाएको छ।

कोषको निवृत्तिभरण कोषमा ४७ करोड ३१ लाख रुपैयाँ तथा जगेडा कोषमा ३० अर्ब ७५ करोड जम्मा भएको छ ।

कोषले शेयर बजारमा मात्रै २१ अर्ब १४ करोड रुपैयाँ लगानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा कोषले शेयर बजारमा २२ अर्ब ९७ करोड रुपैयाँ लगानी गरेको थियो। कोषले सञ्चयकर्ताहरुलाई एक अर्ब ८१ करोड रुपैयाँ कर्जा सापटी दिएको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।