प्राधिकरणको कार्यकारी निर्देशक पदबाट विदा लिँदै कुलमानले के भने ? पूर्ण पाठ सहित

0
Shares

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक पदमा चार वर्ष सेवा गरी कुलमान घिसिङ औपचारिक रुपमा विदा भएका छन्। मंगलबार प्रधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले घिसिङको चार वर्षे कार्यकाल सकिएपछि बिदाइ गरेका हुन् । घिसिङले मंगलबार विदाइको क्रममा अभिव्यक्त गरेको विचारः

कार्यसम्पादन मूल्याङ्कनमा अब्बल

नेपाल सरकारले २०७३ साल भदौ २९ गते मलाई ४ वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र मबीच प्राधिकरण सुधारका विभिन्न सूचकांकहरु तयार गरी कार्यसम्पादन सम्झौता भएको थियो ।

ऊर्जा मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा आर्थिक वर्ष (आव) २०७३/७४ मा ८८.१९, आव ०७४/७५ मा ८७.९८, आव ०७५/७६ मा ८६.८२ र आव २०७६/७७ मा ८७.५५ प्रतिशत प्राप्त भएको छ । मैले जिम्मेवारी सम्हाल्दा लोडसेडिङको अन्धकारले मुलुक अक्रान्त थियो । वर्षात्को समयमा समेत ६ देखि ८ घण्टाको लोडसेडिङ व्यहोरिरहनु परेको र हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्नु पर्ने प्रक्षेपण थियो ।

प्राधिकरणको वित्तीय अवस्था अत्यन्त नाजुक थियो । प्राधिकरणको आव २०७२/७३ सम्ममा सञ्चित घाटा ३४ अर्ब ६१ करोड पुगेको थियो भने सोही वर्ष ८ अर्ब ८९ करोड खुद नोक्सानी थियो । एकातर्फ कहालिलाग्दो अँध्यारोले मुलुक अक्रान्त थियो भने अर्कोतर्फ प्राधिकरणको घाटाको ग्राफ बढ्दो क्रममा थियो । प्रणालीमा वार्षिक विद्युत् चुहावट २५.७८ प्रतिशत थियो, करिब ६३ प्रतिशत जनता मात्रै ग्रीडको विद्युत पहुँचमा थिए । सरकारले मलाई दिएको मुख्य जिम्मेवारी पनि लोडसेडिङको अत्य गरी अँध्यारो युगलाई उज्यालो बनाउने र प्राधिकरणको सुधार गर्ने नै थियो ।

वर्षभरीमा सबैभन्दा बढी विद्युत माग हुने तिहारको लक्ष्मीपूजाका दिन कुशल व्यवस्थापन एवं प्रभावकारी प्रणाली सञ्चालन मार्फत परीक्षणको रुपमा मुलकभरी निरन्तर विद्युत आपूर्ति गर्न सफल भयौंं । विसं २०७३ को लक्ष्मीपूजाको दिन लोडसेडिङ अन्त्य गरी मुलुकलाई उज्यालो बनाउने प्रस्थान बिन्दु थियो । लक्ष्मी पूजाका दिन हासिल भएको सफलताले हामीलाई थप हौसला प्रदान गर्यो । त्यसपछि पहिलो चरणमा राजधानी सहित मुलुकका प्रमुख शहरमा लोडसेडिङ अन्त्य गर्नतर्फ हामी केन्द्रीत भयौं । अन्ततः मुलुकलाई उज्यालोतर्फ अगाडि बढाउन सफल भयौं । वैशाख २०७५ देखि औद्योगिक ग्राहकका लागि पनि लोडसेडिङ अन्त्य गरी मुलुकबाट लोडसेडिङलाई इतिहासमा विलय गराइदिएका छौं ।

सम्माननीय प्रधानमन्त्री, माननीय ऊर्जा मन्त्री, ऊर्जा सचिव, प्राधिकरण सञ्चालक समितिका सदस्यहरु, राजनीतिक तथा प्रशासनिक नेतृत्व, कर्मचारी र आमउपभोक्ताको साथ र सहयोगमा नै सम्झदै कहालीलाग्ने त्यो अँध्यारो युगलाई इतिहास बनाउँदै उज्यालो युग सुरुवात गर्न सफल भएका छौं ।

विद्युत् माग र आपूर्तिबीचको सन्तुलित, वैज्ञानिक व्यवस्थापन र इमान्दार प्रयासबाट मुलुकलाई लोडसेडिङमुक्त बनाउन सफल भयौं । तर, लोडसेडिङ अन्त्य गर्नु मात्र हाम्रो अन्तिम अभिष्ट थिएन । हाम्रो योजना प्राधिकरणको चौतर्फी सुधार र विभिन्न कारणले जीर्ण बनेका तथा अलपत्र अवस्थामा रहेका उत्पादन, प्रसारण तथा वितरणतर्फका आयोजना सम्पन्न गर्नु तथा नयाँ सुरु गर्नु थियो । जीर्ण बनेका अधिकांश आयोजनाहरु निरन्तरको प्रयासबाट निर्माण सम्पन्न भएका छन् भने केही सम्पन्न हुने चरणमा पुगेका छन् ।

हामीले सञ्चालन गरेको ‘उज्यालो नेपाल अभियान’ बाट जनताले नियमित विद्युत आपूर्ति मात्रै पाएका छैनन् प्राधिकरणको प्रशासनिक तथा वित्तीय सुधार पनि भएको छ । ऋणात्मक रहेका प्राधिकरणका वित्तीय सूचकांकहरु धनात्मक बनेका छन् ।

प्राधिकरणको नाफा ११ अर्बभन्दा बढी रहने प्रक्षेपण

मैले जिम्मेबारी सम्हालेको पहिलो आर्थिक वर्षमा प्राधिकरण १ अर्ब ४७ करोड खुद नाफा कमाउन सफल भयो, त्यसपछिका वर्षहरुमा नाफाको ग्राफ उकालो लाग्दै गयो । दोश्रो वर्ष २ अर्व ८५ करोड, तेश्रो वर्ष ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद नाफा कमायो, चौथो वषमा नाफा बढेर ११ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । कुनै बेला कर्मचारीलाई तलब खुवाउन पनि सरकारको मुख ताक्नुपर्ने अवस्थामा पुगेको प्राधिकरण सञ्चालनमा रहेका सार्वजनिक संस्थानहरुमध्ये दुई वर्षदेखि सबैभन्दा बढी खुद नाफा कमाउने संस्था बनेर गौरवपूर्ण इतिहास बनाउन सफल भएको छ । चालु आवको वजेटमा प्राधिकरणको नाफा ११ अर्बभन्दा बढी रहने प्रक्षेपण गरिएको छ ।

ऋणात्मक रहेको सञ्चित कोष धनात्मकतर्फ अघि बढिरहेको छ । चार वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित नोक्सानी रहेकोमा आव ०७६/७७ मा प्राधिकरणले सम्पूर्ण सञ्चित नोक्सानीलाई शून्यमा झारी करिब ५ अर्ब रुपैयाँ नाफामा लैजान सफल भएको छ ।

कर्मचारीको तलब खुवाउन समेत सरकारको मुख ताक्नुपर्ने अवस्थाबाट गुज्रिरहेको प्राधिकरणले पूर्वाधार विकासका योजना बनाउँदा खुट्टा कमाउनु पर्ने अवस्था थियो । तर अबका दिनमा उत्पादन, प्रसारण र वितरणको लागि आवश्यक वजेट प्राधिकरण आफैले पनि व्यवस्था गर्न सक्ने अवस्थामा पुग्ने छ । प्राधिकरणको संस्थागत जमानीमा बहुपक्षीय वित्तीय संस्थाहरुबाट ऋण लिन सकिने अवस्था सिर्जना हुन थालेको छ । हाल प्राधिकरणको छविमा सुधार आएको छ । आम नागरिकको प्राधिकरण प्रतिको दृष्टिकोणमा परिवर्तन भएकोे छ । प्राधिकरणका कर्मचारीले गर्व अनुभव गर्ने दिन आएको छ ।

लोडसेडिङ अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि संचालन गरिएको अभियानबाट प्रसारण तथा वितरणतर्फको विद्युत् चुहावट उल्लेख्य रुपमा घटेको छ । ४ वर्षअघि प्रणालीमा रहेको २५.७८ प्रतिशत विद्युत चुहावटलाई घटाएर अहिले १५.२७ प्रतिशतमा झारिएको छ ।

देशभरका करिव ८६ प्रतिशत जनताले ग्रीडको विद्युतमा पहुँच पाएका छन् । अफ ग्रीडसहित करिब ९० प्रतिशत जनताले विद्युत उर्जामा पहँुच प्राप्त गरेका छन् । चार वर्षअघि प्रतिव्यक्ति प्रतिवर्ष विद्युत् खपत १३०.७८ युनिट मात्रै रहेकोमा अहिले बढेर २६० युनिट पुगेको छ ।
चार वर्ष अगाडि १४ घन्टासम्मको लोडसेडिङ हुँदा मुलुकभित्रको कूल विद्युत खपतको करिब ३५ प्रतिशत विद्युत भारतबाट आयात भइरहेको थियो । तर, विद्युत खपत करिव ७५ प्रतिशतले बढेको अवस्थामा समेत आव २०७६÷७७मा कूल उपलब्ध विद्युतकोे २२ प्रतिशत मात्रै आयात भएको छ भने आयातको ६ प्रतिशत विद्युत निर्यात गरिएको छ । अर्को आवबाट हामी विद्युतमा आत्मनिर्भर हुनेछौं ।

खिम्ती–१ र माथिल्लो तामाकोशीपछि विद्युत महशुल अझ सस्तो गर्न सकिने

सरकारको नीति तथा कार्यक्रम अनुसार प्राधिकरणले इतिहासमा पहिलोपटक उपभोक्ताको महशुल घटाएको छ । १० युनिटसम्म खपत गर्ने ग्राहस्थ उपभोक्तालाई ईनर्जी शुल्क निःशुल्क र न्युनतम शुल्क ३० रुपैयाँ मात्र तिर्नुपर्ने व्यवस्था गरिएको छ । समग्रमा ग्राहस्थ उपभोक्ताको महशुल करिव ८—९ प्रतिशतले घटाइएको छ भने औद्योगिक, व्यापारिक, गैरव्यापारिक उपभोक्ताहरुलाई लाग्दै आएको डेडिकेटेड र ट्रंक लाईनको महंगो महशुल हटाइएको छ ।

सामुदायिक खानेपानी, सिंचाई तथा चार्जिङ स्टेसनको महशुल घटेको छ । यसले गर्दा विद्युत माग बढ्ने अपेक्षा गरिएको छ । आगामी दिनमा अमेरिकी डलरमा विद्युत खरीद सम्झौता गरिएको खिम्ती–१ र स्वदेशी लगानीको माथिल्लो तामाकोशीको विद्युत सस्तोमा आउने हुँदा ग्राहकको विद्युत महशुल अझ सस्तो गर्न सकिने छ ।

एकातर्फ लोडसेडिङ इतिहासमा विलय भई नियमित विद्युत् आपूर्ति हुन थालेपछि पछिल्ला वर्षहरुमा मुलुकको आर्थिक बृद्धिदर उत्साहजनक छ भने अर्कोतर्फ प्राधिकरणले सम्पूर्ण क्षेत्रमा सुधार मात्र होइन, उल्लेखनीय फड्को मारेको छ । संस्थाभित्रको आर्थिक पारदर्शीता,जवाफदेहिता र सुशासनलाई कठोरताका साथ लागू गरिएको छ ।

भूमिगत तार विछ्याई काठमाडौ उपत्यकालाई तार र पोलरहित वनाउन, स्मार्ट मिटर जडान गर्ने, ग्रीडलाई स्वचालित गर्ने आदि कार्यको थालनी भएको छ । डिजिटल एनईए बनाउने कार्यको लागि आवश्यक प्रकृया सुरु भैसकेको छ ।

आयोजना निर्माणलाई तिब्रता दिन लामो समयदेखि अलपत्र अवस्थामा रहेका विद्युत प्रसारण र वितरण तर्फका केही आयोजनाहरुको ठेक्का सम्झौता रद्द गरी नयाँ ठेक्का लगाइएको छ । निर्माणाधीन आयोजनाहरु सम्पन्न गर्न अयोजनास्थलको नियमित निरीक्षण एवं अनुगमन गरिएको छ ।

रुग्ण भएर बसेका माथिल्लो त्रिशूली ३ ए, चमेलिया र कुलेखानी ३ आयोजनाहरु सम्पन्न

लामो समयदेखि रुग्ण भएर बसेका माथिल्लो त्रिशूली ३ ए, चमेलिया र कुलेखानी ३ आयोजनाहरु सम्पन्न भएका छन् । निजी क्षेत्रका सहित गरी जम्मा ४५७ मेगावाटका जलविद्युत आयोजना सञ्चालनमा आएका छन् । प्रसारण र वितरण लाइनका रुग्ण आयोजनाहरु सम्पन्न भएका छन् र केही ठूला आयोजनाहरु सम्पन्न हुने चरणमा छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण प्राधिकरणको राजश्व संकलन प्रभावित हुनपुग्यो भने निर्माणाधीन केही आयोजनाहरु लक्षित समयमा पूरा हुन सकेनन् ।

नेपालको उर्जा क्षेत्रमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने दूधकोशी (६३५ मेगावाट), माथिल्लो अरुण (१०६० मेगावाट) र तामाकोशी ५ (९९ मेगावाट) जस्ता जलविद्युत आयोजनाहरु निर्माणका लागि वित्तीय श्रोत जुटाउने चरणमा छन् । यी आयोजनाहरुको लगानी जुटाएर जाँडै निर्माण सुरु गर्ने चरणमा पुग्नेछन् ।

अन्तरदेशीय प्रसारण लाइनको क्षमता अभिबृद्धि भै करिव १ हजार ५०० मेगावाट पुगेको छ । नेपाल–भारत दोश्रो अन्तदेशीय प्रसारण लाइन न्यू बुटवल–गोरखपुरको लागि लगानी ढाँचा (Implementation Modality) तयार भएको छ । साथै नेपाल चीनबीचको रातोमाटे रसुवागढी केरुङ ४०० केभी प्रसारण लाइन निर्माणको लागि समझदरीपत्रमा हस्ताक्षर भै कार्य अगाडि बढेको छ । नेपालले भारत तथा बंगंलादेशको विद्युत् बजारमा पहुँच पाउने गरी कार्य अन्तिम चरणमा पुगेको छ ।

आगामी दिन प्राधिकरणका लागि थप चुनौतिपूर्ण

चार वर्षेकार्यकालमा देशका लागि आवश्यक केही महत्वपूर्ण योजनाहरु निरन्तरको प्रयासबाट पूरा हुन सकेनन्ः जसमध्ये माथिल्लो तामाकोशी सहित चिलिमे जलविद्युत कम्पनी अन्तर्गतका आयोजनाहरु सम्पन्न गर्ने, ढल्केबरमा ४०० केभी सबस्टेसन चार्ज गर्ने, देशलाई विद्युत्मा आत्मनिर्भर वनाउदै निर्यात गर्ने, काठमाडौं उपत्यकालाई तार र पोल रहित बनाउने, स्मार्ट मिटर र ग्रीड स्वःचालित प्रणाली देशभरी लागू गर्ने, देशभरका शतप्रतिशत जनतालाई विद्युत्मा पहुँच पुर्याउने, डिजिटल एनईए बनाउने आदि मुख्य रहेका छन् ।

आगामी दिन प्राधिकरणका लागि थप चुनौतिपूर्ण रहनेछ । आहिलेसम्म प्राप्त उपलब्धीलाई संस्थागत गर्नु पहिलो चुनौती हो भने उत्पादित विद्युतको वजार व्यवस्थापन दोश्रो चुनौतीको रुपमा रहेको छ । विद्युत् आपूर्तिको नियमितता र गुणस्तर बृद्धि गर्नु तेश्रो चुनौती रहेको छ । संघीय संरचना र नयाँ विद्युत ऐन अनुसार संस्थागत पुनर्संरचना गरी प्रभावकारी संचालनमा ल्याउनू चौथोे चुनौती रहको छ । यी चार मुख्य चुनौतीबाहेक अन्य व्यवस्थापकीय चुनौतीहरु थपिंदै जानेछन् ।

आभार

मलाई विश्वास गरी कार्यकारी निर्देशकमा नियुक्त गरी जिम्मेवारीपूर्वक काम गर्ने मौका दिनु हुने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), ऊर्जा मन्त्री जनार्दन शर्मालगायत तत्कालीन मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । उहाँहरुकोे नेतृत्व छोटो रहेता पनि सर्वसाधारणले अनुभूत हुने गरी लोडसेडिङ अन्त्य गर्न एवं समग्र विद्युत क्षेत्रको सुधारको जग बसाल्न सफल भएको थियो ।

त्यसपछि तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा, उर्जा मन्त्रीहरु कमल थापा र महेन्द्र शाहीको नेतृत्वमा अत्यन्त सौहार्दपूर्ण वातावरणमा प्राधिकरणको सुधार एवं विद्युतु आपूर्तिलाई व्यवस्थित बनाउने काममा थप सफलता प्राप्त भयो । उहाँहरुप्रति म आभार प्रकट गर्दछु ।
मेरो चार वर्षे कार्यकालको सवभन्दा बढी समय (करिव साढे दुई वर्ष) वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनको नेतृत्वमा व्यतित भयो ।

‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने अभियानको सारथी वन्न पाउँदा अत्यन्त खुशी लागेको छ । यस अवधिमा औद्योगिक क्षेत्रको बेलुकाको पिक डिमाण्ड हुने समयमा समेत निरन्तर विद्युत आपूर्ति गरी २०७५ वैशाख ३१ गतेबाट देशबाट लोडसेडिङ अन्त्य भएको औपचारिक घोषणा गरियो । प्राधिकरणलाई सार्वजनिक संस्थाहरुमध्ये सवभन्दा बढी नाफा कमाउने संस्थाको रुपमा लगातार दुई वर्ष स्थापित गर्न सफल भर्यौ । बहुआयमिक, गतिशील एवं अग्रसर नेतृत्व प्रदान गर्नु भएकोमा उहांहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।

प्राधिकरणलाई दिशानिर्देश गरी सक्षम संस्थाको रुपमा विकास गर्न नीतिगत निर्णय र कार्यक्रमहरुको कार्यन्वयनमा हरदम गतिशील नेतृत्व दिनु हुने तत्कालीन उर्जा सचिव अनुप कुमार उपाध्याय र वर्तमान सचिव दिनेश कुमार घिमिरेप्रति हार्दिक आभार व्यक्त गर्दछु । संचालक समितिबाट गरिने हरेक निर्णयहरुमा सकारात्मक सोचका साथ प्रभावकारी भूमिका निभाई व्यवस्थापनको हरेक कदममा सहयोग पुर्याउनु हुने वर्तमान र पूर्व संचालकहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

प्राधिकरणलाई सामूहिक नेतृत्व दिन अहोरात्र खटिएका उच्चपदस्थ मेरा सहकर्मी साथीहरुमा उच्च तहको व्यवस्थापकीय क्षमता प्रदर्शन गर्न सफल हुनु भएकोमा हार्दिक वधाई एवं धन्यवाद दिन चाहन्छु ।  जुनसुकै कठिन परिस्थितिमा पनि उच्च मनोबलका साथ जिम्मेवारीपूर्वक कार्यसम्पादन गरी व्यस्थापनको हरेक क्रियाकलापमा सहयोग गर्नु हुने सम्पूर्ण कर्मचारीहरुप्रति हार्दिक धन्यवाद दिन चाहन्छु ।

मेरो कार्यकालमा ट्रेड यूनियनहरुको भूमिका अत्यन्तै सकारात्मक र महत्वपूर्ण रह्यो । यसका लागि आधिकारिक तथा क्रियाशील ट्रेड यूनियनहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । राति, विहान र बिदाको समय नभनी हरपल मेरो हरेक पाईलामा निरन्तर सहयोग गर्नु हुने मेरा सचिवालयका सम्पूर्ण कर्मचारी साथीहरुलाई धन्यवाद दिन चाहन्छु ।

प्राधिकरण मार्फत नेपालको उर्जा क्षेत्रमा वित्तिय सहयोग गर्नु हुने World Bank, ADB, EIB, EXIM Banks, KFW, JICA, NORAD, AIIB आदि विकास साझेदार निकायहरु तथा संचयकोष, नागरिक लगानी कोषलगायत स्वदेशी वित्तिय संस्थाहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

प्राधिकरण मार्फत उत्पादन, प्रसारण र वितरण आयोजनाहरुको लागि आवश्यक वजेट व्यवस्थापन गरी सहयोग गर्नु हुने अर्थ मन्त्रालय, चुहावट नियन्त्रण, जग्गा अधिकरण एवं सुरक्षा व्यवस्था संवन्धी कार्यमा सहयोग गर्नु हुने गृह मन्त्रालय, वन तथा वातावरण सम्बन्धी कार्यमा सहजीकरण गर्नु हुने वन तथा वातावरण मन्त्रालय, अन्तर मन्त्रालय सहजीकरण र आयोजनाहरुको छनौट एवं अनुगमनमा सहयोग पुर्याउनु भएकोमा राष्ट्रिय योजना आयोगलाई धन्यवाद दिन चाहन्छु ।

कठिन परिस्थितीमासमेत प्राधिकरणका हरेक गतिविधिमा निरन्तर रुपमा सहयोग एवम् समर्थन गरी हामीलाई हौसला र प्रेरणा प्रदान गर्नुहुने आम उपभोक्ता, नागरिक समाज, देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइ राजनीतिक दलका नेता एवं कार्यकर्ताहरु, स्थानीय तहका जनप्रतिनिधिहरु तथा विभिन्न व्यावसायिक संघ संस्थाहरुप्रति विशेष आभार प्रकट गर्दछु ।

हाम्रा हरेक कामकारवाहीहरुप्रति नियमन, अनुगमन एवं निगरानी गर्ने निकायहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु । प्राधिकरणका नियमित काम कारबाहीहरुको यथार्थ सूचना सम्प्रेषण गरी सहयोग पुर्याउनु हुने सञ्चार गृह तथा पत्रकार मित्रहरुमा विशेष धन्यवाद दिन चाहन्छु ।

विगत चार वर्षमा हामीले गरेका प्रयासले प्राधिकरणको गरिमालाई उच्च वनाएको छ । अगामी दिनमा यसको गरिमा अझ उच्च हुंदै जाओस्, मेरो सधै नै साथ, सहयोग र समर्थन रहिरने छ । नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रकृया हो, यसलाई हामी सवैले आत्मसाथ गर्नु पर्छ । म यसलाई बुझिदिन सबैलाई अनुरोध गर्दछु ।

अन्त्यमा सम्पूर्ण नेपाली जनता मेरो प्रेरणाको श्रोत हुन् । आगामी दिनमा मेरा सम्पूर्ण प्रयासहरु नेपाल र नेपाली जनताको समृद्धिको चाहना पूरा गर्नेतर्फ केन्द्रित रहने छन् ।

कुलमान घिसिङ

कार्यकारी निर्देशक
नेपाल विद्युत प्राधिकरण

मिति: २०७७ भदौ ३० गते मंगलबार ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।